
१० चैत, काठमाडौं । नेकपा एमालेका वरिष्ठ नेता माधवकुमार नेपालले हिम्मत भए आफुहरुलाई पार्टीबाट निकालेर देखाउन पार्टी अध्यक्ष केपी ओलीलाई चुनौती दिएका छन् ।
मंगलबार अखिल नेपाल राष्ट्रिय स्वतन्त्र विद्यार्थी युनियन राष्ट्रिय कार्यकर्ता भेलालाई सम्बोधन गर्ने क्रममा आफुहरुलाई पार्टी अध्यक्षले सोधेको स्पष्टीकरणको पत्र बाचन गर्दै हिम्मत भए पार्टीबाट निकालेर देखाउन चुनौती दिएका हुन् । ‘हिम्मत छ निकाल्ने निकाल्नुस्् न ! सहेर बसिन्छ ?’ नेता नेपालले प्रश्न गरे ।
उनले छिट्ट नै बुद्धिजीवी, मजदुरलगायत विभिन्न तहको राष्ट्रिय भेला गर्ने र त्यसपछि जिल्ला भेला आयोजना गर्ने बताउँदै यसले एउटा नयाँ तरंग पैदा गर्ने बताए ।
‘मेचीदेखि महाकालीसम्म र हिमालदेखि तराइसम्मका प्रत्येक जिल्लामा हामी प्रशिक्षण अभियान चलाएर संगठन निर्माण तथ सुदृढ अभियान चलाउने छौं ।’ सम्बोधनका क्रममा नेता नेपालले भने, ‘त्यो नेकपा एमालेलाई बलियो बनाउनका लागि । नेकपा एमाले हाम्रो हो केपी ओलीको होइन । केपी ओलीले जालझेल गरेर कानुनी हिसाबले नेकपा एमाले कब्जा गरे भने हेरौंला, होइन भने नेकपा एमाले हाम्रो हो । केपी ओली बिमाले होउन्, सिमाले होउन् उनी यो पार्टी छोडेर गएर हुन्छ ।’