
११ चैत, काठमाडौं । अध्यक्षसहित पाँच जनाको कार्यकाल मंगलबारदेखि सकिएपछि लोकसेवा आयोग पदाधिकारी विहिन भएको छ ।
पदाधिकारी नहुँदा आयोगको संलग्नतामा गरिने कर्मचारी भर्ना लगायतका काम पनि ठप्प हुने भएको छ ।
आयोगका अध्यक्ष उमेश मैनाली, सदस्यहरु ब्रिन्दा हाडा, अशोककुमार झा, कृष्णचन्द्र झा र बह्रमदेव रायको पदावधि सकिएको हो ।
सदस्यहरु गोविन्द प्रसाद कुसुम र श्रीपुरुष ढकालको पदाबधि यसअघि नौ सकिएको थियो । उनीहरु २०७१ चैतमा नियुक्त भएका थिए । यसअघि सात जनाको आयोग थियो । नयाँ संविधान अनुसार अब पाँचजना पदाधिकारी हुनेछन् । प्रधानमन्त्री अध्यक्ष रहेको संबैधानिक आयोगका अध्यक्षसहितका पदाधिकारीले नियुक्त गर्ने संबैधानिक व्यवस्था छ ।
सरकारले जारी रहेको संबैधानिक परिषद् सम्बन्धी अध्यादेश संविधानको भावनाविपरित भएको भन्दै प्रतिनिधिसभामा विपक्षी दलहरुले विरोध जनाइरहेका छन् ।
यस्तो अवस्थामा लोकसेवा आयोगमा तत्काल पदाधिकारी नियुक्त हुन अप्ठेरो छ । आयोगको संलग्नतामा निजामति कर्मचारी, सेना, प्रहरी, संस्थानलगायत १ सय १९ संगठित संघसंस्था सम्बन्धी कानुनी परामर्श गराई पदपूर्ति प्रक्रिया व्यवस्थित गरिँदै आएको छ । बुधबारको कान्तिपुर दैनिकबाट