back
CTIZAN AD

गुरु बन्न पाइन्छ, माफिया बन्न पाइन्न

वि.सं.२०७७ चैत ११ बुधवार

720 

shares

त्रिभुवन विश्वविधालयका प्राध्यापक केशवराज पौडेलले त्रिवि सेवाआयोगमा उपप्राध्यापकको परीक्षा दिनका लागि तयारी अवस्थामा रहेकाहरूलाई त्रि.विका प्राध्यापकहरूले अनलाईन पढाउन लागेको खबरप्रति टिप्पणी गरेका छन् ।

सामाजिक सञ्जालमा ८ बुँदामा टिप्पणीसहित सुझावसमेत दिएका पौडेलले कक्षा लिने कुरा स्वागतयोग्य कदम भएपनि तयारी कक्षा लिने क्रममा प्राध्यापकहरुले नैतिक मर्यादाको ख्याल हुँदैन की भन्ने चिन्ता व्यक्त गरेका छन् ।

यहि चिन्ताका कारण पौडेलले कक्षा लिने तयारीमा रहेका प्राध्यापकहरुलाई सर्तक गराउँदै भनेका छन् ‘गुरु बन्न पाइन्छ, माफिया बन्न पाइन्न ।’

‘शिक्षकले त्रिविसेवाका तयारी कक्षा चलाउनु न्यायको विषय हो, गुरुको कर्तव्य र धर्म पनि हो तर त्यही शिक्षक त्रिवि सेवा आयोगको ढोकाभित्र छिरेर प्रभुत्व जमाउन पुग्यो भने त्यो माफियागिरी हो ।’ पौडेलले स्टाटसमा उल्लेख गरेका छन् ।

उनको स्टाटस् यस्तो छ :
ख्यातिप्राप्त प्राध्यापकहरूले त्रिवि सेवाआयोगमा उपप्राध्यापकको परीक्षा दिनका लागि तयारी अवस्थामा रहेका मित्रहरूलाई अनलाईन पढाउन लाग्नु भएको कुरा स्वागत योग्य छ । यसले परीक्षार्थी र त्रिवि दुबैलाई राम्रो सहयोग अवश्य पुग्ने छ । प्राध्यापकहरूको कर्तव्य भित्रै यो विषय पनि पर्छ । यसलाई लुकीचोरी होइन खुलमखुल्ला गर्ने अवस्था राज्यले तयार गरिदियोस् भन्ने अपेक्षा राख्दछु ।
प्राध्यापकहरू जो यस अभियानमा संलग्न हुनुहुँदै छ ख्याल गरिदिनुहोस्
१) यसो गर्दै गर्दा आफुलाई प्राध्यापक भन्न रूचाउने गुरुजनहरूले नैतिकताको धरातल नभुलिदिनु होला ।
२) तयारी कक्षामा संलग्न गुरुजनहरूबाट त्रिवि सेवा आयोगले लिने परीक्षाको प्रश्नपत्र निर्माण, उत्तरपुस्तिका परीक्षण कीर्ति मूल्याङ्कन र अन्तर्वार्तामा संलग्न नहुने घोषणाको अपेक्षा छ ।
३) त्रिवि सेवा आयोगले प्रश्नपत्र निर्माण, उत्तरपुस्तिका परीक्षण कीर्ति मूल्याङ्कन र अन्तर्वार्तामा संलग्न हुनु पूर्व गुरुजनहरूलाई आफु तयारी कक्षामा संलग्न नरहेको स्वयं घोषणा गर्न लगाउने व्यवस्था गरोस् ।
४)त्रिवि सेवा आयोगले पनि तयारी कक्षामा संलग्न यस्ता गुरुजनहरूका नाम नामेसीका बारेमा अहिले विज्ञापनमा दर्खास्त दिने व्यवस्था जस्तै अनलाईन मार्फत सूचना संकलन गर्ने व्यवस्था गरोस् ।
५)कुनै शिक्षकले तयारी कक्षामा संलग्न भएको कुरा ढाटेर प्रश्नपत्र निर्माण, उत्तरपुस्तिका परीक्षण कीर्ति मूल्याङ्कन र अन्तर्वार्तामा संलग्न भएको पाइएमा सो परीक्षा रद्द गरी सो परीक्षाको सम्पूर्ण लागत खर्च जोडी खर्च भराउने तथा खर्च बरावरको रकम जरिवाना गर्नुका साथ बहालवाला शिक्षक भए पेन्सन, उपदान केही नपाउने गरी सेवाबाट हटाउने तथा सेवा निवृत्त शिक्षकभए खाइपाइ आएको पेन्सन खारेजी गरी भविश्यमा सेवा आयोगका काममा अयोग्य ठहरीने गरी कारवाहीको व्यवस्था होस् ।
६) त्रिवि सेवा आयोगले यति हिम्मत गर्न सक्यो भने त्रिवि तथा परीक्षार्थीको पनि हित हुने छ ।
७) स्मरण रहोस्, शिक्षकले त्रिविसेवाका तयारी कक्षा चलाउनु न्यायको विषय हो, गुरुको कर्तव्य र धर्म पनि हो तर त्यही शिक्षक त्रिवि सेवा आयोगको ढोकाभित्र छिरेर प्रभुत्व जमाउन पुग्यो भने त्यो माफियागिरी हो ।
८) गुरु बन्न पाइन्छ, माफिया बन्न पाइन्न । चेतना भया ।

वि.सं.२०७७ चैत ११ बुधवार १६:०८ मा प्रकाशित