बामपन्थीको फुटले सजिलै बहुमत आउने आसा काँग्रेसीजनको होला तर कंग्रेसलाई लोकतन्त्रको पहरेदारको रुपमा प्राप्त हुने गरेको जनमत यसरी सुरक्षित हुँदैन ।ओलीको अचाक्लीले अन्तत बामपन्थीहरुलाई एकढिक्का बनाउन मद्दत गर्नेछ तर प्रतिगमन विरुद्ध उभिन नसक्दा काँग्रेसको हालत झन झन कमजोर हुनेमा शंका छैन ।
एउटा मन्द बुद्धिको केटोलाई घर हेर्न राखेर घरको साँचो कसैलाई नदिनु भनेर घरका मानिसहरु काम गर्न गए । केही क्षणपछि चोरहरु आए । केटोसँग चोरहरुले केटाको घरका सदस्यहरु कहाँ गए भनेर सोधे । आफूलाई घर कुर्न छोडेर सवैजना काममा गएको बतायो । कुराकानी गर्दा केटालाई अलीकति ललीपप दिएपछि घरको तालाचावी पाइने थाहा पाए । चोरमध्ये एकजना अली परको पसलमा गएर ५/७ बटा ललीपप किनेर ल्यायो । अनी भन्यो आफूूहरुलाई उसको बाबुले घर मर्मत गर्न बोलाएको विर्सेर गएछन् । बाबु ललीपप खाँदै गर हामी घर मर्मत गर्छौ भनेर चोरले घरको साँचो मागेपछि ललीपपको सुरमा भने । ललीपप पाएपछि केटोले आफूलाई बाबुआमाले भनेका सवै कुरा विस्र्यो र घरको साँचो चोरलाई दियो । उ ललीपप खाएर बस्यो उता चोरले घरको लट्टी पट्टी पार्यो । बेलुका आउँदा घर त चौपट ।
आज लोकतन्त्रको पहरेदारको रुपमा प्रमुख प्रतिपक्षी दलका नेता शेरबहादुर देउवाको हालत त्यही ललीपपको लोभमा सवैकुरा विर्सेर घरको तालाचावी बुझाउने केटाको हाल भएको छ । लोकतान्त्रक व्यवस्थामा लोकतान्त्रिक मूल्य मान्यताको संरक्षणमा प्रमुख प्रतिपक्षको महत्वपूर्ण जिम्मेवारी हुन्छ । सरकारसंग शक्ति हुन्छ र जहिलेपनि शक्तिको दुरुपयोगको संभावना रहन्छ । सरकारले शक्तिको दुरुपयोग गर्नबाट रोक्न, गलत कामकारवाहीको विरोध गर्न र बैकल्पिक कार्यक्रम सहित प्रतिपक्ष चनाखो रुपमा रहनुपर्छ ।
सरकारको गलत कार्यको विरुद्धमा खरो उत्रने बैकल्पिक कार्यक्रम ल्याउने र सरकारलाई सच्चिन बाध्य बनाउने जिम्मेवारी पाएको प्रमुख प्रतिपक्षका नेता देउवा ललीपपमा भुलेर घरको तालाचावी बुझाउने केटा जस्तै भएका छन् ।
सासुको राजदुत पद, केही थान असंवैधानिक तरिकाले नियुुक्त गरिएका संवैधानिक पद तथा केहीथान अयोग्य ठेट्नाहरुलाई न्यायाधीशको पदकै भरमा लोकतान्तिक संविधान, लोकतान्त्रिक पद्धति र सारा लोकतान्त्रिक विधिको हुर्मत लिँदा चुप लागेर ललीपप चुस्दै बसेका छन् । उनले अघिल्लोपटक पनि सीमित प्रजातन्त्रलाई दरवारको जिम्मा लगाएकै हुन् । उनको नियत र नियति नै प्रतिगमनको मतियार हुनु हो भन्ने जग जाहेर भएको छ ।
बामपन्थीको फुटले सजिलै बहुमत आउने आसा काँग्रेसीजनको होला तर कंग्रेसलाई लोकतन्त्रको पहरेदारको रुपमा प्राप्त हुने गरेको जनमत यसरी सुरक्षित हुँदैन । ओलीको अचाक्लीले अन्तत बामपन्थीहरुलाई एकढिक्का बनाउन मद्दत गर्नेछ तर प्रतिगमन विरुद्ध उभिन नसक्दा काँग्रेसको हालत झन झन कमजोर हुनेमा शंका छैन ।
लोकतन्त्र बँचेन बोल्न पाइएला । हामी किनारामा बस्नेहरुको स्वार्थ त त्यत्ति न हो । हामीलाई कालो सेतो, रातो हरियो जस्तोसुकै आओस विधि र पद्धति मान्ने, लाज मान्ने, अदालतलाई टेर्ने जनताको कुरा सुन्ने आफू सच्चिने नेता र नेतृत्व चाहिएको हो । कुनै अमूक दल र अमुक नेता भन्दा पनि पद्धति चाहिएको हो । जनुसुकै आउन संविधान र कानुनको उल्लंघनमा हाम्रा कलम चलीरहन्छन् ।
वि.सं.२०७७ चैत १७ मंगलवार १७:३४ मा प्रकाशित























