१ वैशाख, काठमाडौं । नेपाल सरकार रक्षा मन्त्रालय र नेपाली सेनाको संयुक्त आयोजनामा शिवपुरीस्थित श्री सैनिक कमाण्ड तथा स्टाफ कलेजमा मिति २०७७ चैत्र १६ गतेदेखि सञ्चालन भएको सि.सं. ६ उच्च स्तरीय सुरक्षा (Advanced Course on National Security) तालिमको मिति २०७७ चैत्र ३१ गते सम्माननीय प्रधानमन्त्री तथा रक्षा मन्त्री केपी शर्मा ओलीको प्रमुख आतिथ्यतामा समापन भएको छ ।
उक्त समारोहमा सैनिक कमाण्ड तथा स्टाफ कलेजका शिक्षाध्यक्ष उपरथी श्री हिरालाल जोशीले स्वागत मन्तव्य राख्नु भएको थियो भने सम्माननीय प्रधानमन्त्री तथा रक्षा मन्त्री ओलीले नयाँ बर्ष २०७८ सालको शुभकामना सहित समापन मन्तव्य राख्नु भएको थियो । समापन समारोहलाई सम्बोधनको दौरान प्रधानमन्त्री ओलीले (Advanced Course on National Security) तालिमका सहभागीहरुले राष्ट्रिय सुरक्षा सम्बन्धि विविध आयामबारे एथेष्ट ज्ञान हासिल गरेको विश्वास व्यक्त गर्नु हुँदै वर्तमान जटिल विश्व परिस्थितिमा सुरक्षाका विभिन्न आयामहरु रहेको तथा सक्षम र शान्तिपुर्ण समाज निर्माणको लागि सबै आयामहरुलाई उत्तिकै महत्व दिनुपर्ने बताएका थिए।
समापन समारोहलाई सम्बोधन गर्ने क्रममा प्रधान सेनापति महारथी पूर्णचन्द्र थापाले राष्ट्रिय सुरक्षालाई सबैको साझा दायित्वको रुपमा व्याख्या गर्दै यस तालिमले सुरक्षाका विविध पक्षहरु थप उजागर गर्न र राष्ट्रका विभिन्न निकायहरु बीच समन्वय, सहकार्य र सौहार्दपूर्ण वातावरणको विकास गर्न सहयोगी भुमिका खेलेको विश्वास व्यक्त गरेका थिए ।
वि।सं। २०७२ सालबाट शुरु गरिएको यस तालिममा नेपाल सरकारको विभिन्न निकाय, नेपाल रेडक्रस सोसाइटी, राष्ट्रिय समाचार समिति, नेपाली सेना र अन्य सुरक्षा निकायका वरिष्ठ अधिकृतहरु गरी २५ जना शिक्षार्थी अधिकृतहरुको सहभागिता रहेको थियो भने हालसम्म ११५ जनाले यस तालिममा सहभागिता जनाउनु भएको छ ।
कोभिड(१९ स्वास्थ्य मापदण्डलाई पूर्ण रुपमा पालना गरि आयोजना गरिएको उक्त समापन समारोहमा रक्षा सचिव, त्रिभुवन विश्व विद्यालयका पदाधिकारीहरु, पूर्व शिक्षाध्यक्षहरु, अतिथिवक्ताहरु एवं नेपाली सेनाका वरिष्ठ अधिकृतहरुको समेत उपस्थिति रहेको थियो ।
वि.सं.२०७८ वैशाख १ बुधवार ११:२५ मा प्रकाशित






























