१ बैशाख, काठमाडौं । प्रर्व प्रधानमन्त्री तथा नेकपा (माओवादी केन्द्र) का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले वृहद संयुक्त मोर्चामा जोड दिएका छन् ।
पुष्पलाल अध्ययन समाजको पदाधिकारीहरुसँगको संक्षिप्त भेटघाटका क्रममा गैर संबैधानिक, गैरलोकतान्त्रिक र प्रतिगमनकारी कार्यका विरुद्धमा सबै अग्रगमनकारीहरु एकजुट हुनुपर्ने कुरामा उनले जोड दिएका छन् ।
सो अवसरमा पुष्पलाल अध्ययन समाजका अध्यक्ष लोककृष्ण भट्टराईले अध्ययन समाजको संक्षिप्त गतिबिधि सहित प्रचण्ड पत्नी सीता दाहालको स्वास्थ्यलाभको कामना गरेका थिए भने समाजका उपाध्यक्ष तथा एमसीसी विरोधी अभियानका संयोजक नारायण शर्माले एमसीसी जसरी पनि पास गर्ने पछिल्लो कसरत वारे प्रचण्डको ध्यानाकर्षण गराएका थिए ।

उक्त संक्षिप्त भेटघाटमा आन्दोलनको गहन समिक्षा गरिनुपर्ने र आन्दोलनलाई चुस्त बनाउनुपर्ने सुझाव उपाध्यक्ष तथा वरिष्ठ अधिवक्ता वोर्ण बहादुर कार्कीले दिएका थिए भने सचिवद्धय एकलाल श्रेष्ठ र निलकण्ठ तिवारीले राजनैतिक गत्यावरोधका बारेमा जिज्ञासा राखेका थिए ।

नयाँवर्ष २०७८ को शुभकामना समेत आदान–प्रदान भएको सो कार्यक्रममा समाजका उपमहासचिव हरिहर खरेल, कोषाध्यक्ष श्रीहरि श्रेष्ठ, सदस्यहरु देवशंकर पौडेल, सावित्री भट्टराई, चन्दा थापा लगायतको उपस्थिति रहेको थियो ।
पत्नी सीताको स्वास्थ्यलाभको कामना गरेको र प्रतिगमन विरुद्धको अभियानमा लागेकोमा सम्बद्ध सबैलाई प्रचण्डले आभार व्यक्त गरेका थिए । उनले वर्तमान समस्याको जटिलता चिर्न सकेसम्म प्रयास भइरहेको बताउँदै त्यसमा सबैको सहयोग र साथ जुट्ने अपेक्षा गरेका थिए ।
वि.सं.२०७८ वैशाख १ बुधवार १२:०८ मा प्रकाशित






























