
२ बैशाख, काठमाडौं । स्पेनिस क्लब रियल म्याड्रिड र इंग्लिस क्लब म्यानचेस्टर सिटी युरोपियन च्याम्पियन्स लिगको सेमिफाइनलमा प्रवेश गरेका छन्।
गएराति भएको क्वाटरफाइनल अन्तरगतको दोस्रो लेगमा स्पेनिस क्लब रियल र इंग्लिस क्लब लिभरपुलले गोलरहित बराबरी खेले। दोस्रो लेग बराबरीमा रोकिएपछि पहिलो लेगमा ३-१ को जित निकालेको रियल समग्रमा ३-१ को जित सहित सेमिफाइनलमा प्रवेश भयो ।
उता, म्यानचेस्टर सिटीले जर्मन क्लब बोरुसिया डर्टमुन्डलाई दोस्रो लेगमा पनि २-१ ले पराजित गर्दा समग्रमा ४-२ गोलका साथ सेमिफाइनलमा प्रवेश भयो ।
सिटीले २-१ को जित निकाल्दा उसका लागि ५५ औँ मिनेटमा महारेजले पेनाल्टीमा र ७५ औँ मिनेटमा फोडेनले गोल गरेका थिए। पहिलो हाफको १५ औँ मिनेटमा बेलिङघमको गोलबाट खेलमा अग्रता लिएपनि डर्टमुन्ड जित निकाल्न नसक्दा क्वाटरफाइनलबाटै बाहिरीन पुग्यो ।
यससँगै च्याम्पियन्स लिगको सेमिफाइनलमा प्रवेश पाउने टिमको समिकरण पूरा भएको छ। सेमिफाइनलमा पिएसजी र म्यानचेस्टर सिटी तथा रियल म्याड्रिड र चेल्सीबीच प्रतिस्पर्धा हुनेछ।