वैशाख ३, काठमाडौं । कर्णाली प्रदेशका मुख्यमन्त्री महेन्द्रबहादुर शाहीले आज विश्वासको मत लिँदैछन् । नेकपा (एमाले)ले समर्थन फिर्ता लिएसँगै अल्पमतमा परेका उनले विश्वासको मत लिन लागेका हुन् ।
शाहीले गत मंगलबार विश्वासको मत लिने पत्र प्रदेश सभा सचिवालयमा दर्ता गराएका थिए । शुक्रबार बस्ने उक्त प्रस्तावमा मतदान हुने भएको हो । आजको मतदानमार्फत मुख्यमन्त्री शाहीले आफ्नो पक्षमा बहुमत रहेको पुष्टी गर्नुपर्ने हुन्छ ।
सांसदले फ्लोरक्रस गर्लान् ?
३९ सदस्यीय प्रदेशसभामा (धर्मराज रेग्मीको कारबाही पछि) नेकपा (एमाले)का २०, नेकपा (माओवादी केन्द्र)का १२, कांग्रेसका ६ र राप्रपाका १ सांसद छन् । बहुमत पुर्याउन शाहीको पक्षमा थप ८ सांसदको समर्थन चाहिन्छ ।
जसको लागि कांग्रेस र राप्रपाले सहयोग गरेमा पनि शाहीको सत्ता जोगाउन गाह्रो छ । कांग्रेस हालसम्म कसलाई सहयोग गर्ने भन्नेमा मौन छ भने राप्रपा तटस्थ रहने निर्णयमा पुगेको छ ।
यस्तो अवस्थामा मुख्यमन्त्रीको पद जोगिन एमालेका सांसदले ‘फ्लोरक्रस’ गर्नुपर्ने हुन्छ । माओवादी केन्द्रले पनि एमालेको माधव पक्षका सांसदले फ्लोरक्रस गर्ने अपेक्षा गरेका छ ।
तर, पार्टी संसदीय दलको ह्वीप बाहिर एमालेका सांसदले फ्लोर क्रस गर्छन् र मुख्यमन्त्रीको पद जोगाउँछन् भन्ने कुरा स्पष्ट छैन् । यदि एमालेका सांसदले फ्लोर क्रस गरेनन् भने शाहीको पद रहने छैन् ।
अर्कोतर्फ पार्टी ह्वीप विपरित फ्लोरक्रस गरेको खण्डमा सांसदहरु कारबाहीको भागीदारसमेत हुने अवस्था आउनेछ ।
आन्तरिक विवाद मिलाए एमालेलाई सजिलो
सर्वोच्चको फैसलासँगै ब्यूँतिएको नेकपा (एमाले) आन्तरिक विवादको कारण विभाजन उन्मुख छ । एमाले स्पष्ट रुपमा केपी शर्मा ओली पक्ष र माधव कुमार नेपाल पक्षमा विभाजित छ । केन्द्रदेखि तलसम्मै समानान्तर रुपमा दुई धारमा रहेको एमाले एकल हुने र सत्ता बनाउने कुरा सहज छैन् ।
कर्णाली प्रदेशसभामा ओली पक्ष र माधव पक्ष करिब बराबरीको अवस्थामा छन् । तर, सरकार भने ओली पक्षले एकल बनाउने सुर गरेको छ । यस्तोमा सभामुखसहित २० सांसद (बहुमत) रहेको एमालेलाई आन्तरिक विवाद हल नगरी सरकार निर्माण गाह्रो हुने देखिन्छ ।
अंकगणितमा स्वभाविक बहुमत देखिएको भए पनि विवादले गर्दा सरकार बनाउने विषय सहज छैन् ।
वि.सं.२०७८ वैशाख ३ शुक्रवार १२:०३ मा प्रकाशित






























