वैशाख ३, काठमाडौं । गण्डकी प्रदेश सरकारविरुद्व अविश्वासको प्रस्ताव दर्ता गराएको कांग्रेस, माओवादी र जसपाको गठबन्धनले लुम्बिनी प्रदेश सरकारविरुद्व पनि अविश्वासको प्रस्तावको तयारी गरेको छ । एमालेका मुख्यमन्त्री शंकर पोखरेललाई विदाई गर्ने निष्कर्षसहित तीन दलिय गठबन्धनले अविश्वास प्रस्ताव दर्ताको तयारी गरेको हो ।
हाल मुख्यमन्त्री पोखरेल नेतृत्वको सरकार अल्पमतमा छ । ८५ सदस्यीय प्रदेशसभामा नेकपा (एमाले)को पक्षमा ४२ सांसद छन् । सँगै एमालेको माधवकुमार नेपाल पक्षीय सांसदहरु पनि उनको विपक्षमा छन् ।
प्रदेशसभामा रहेका नेपाली कांग्रेसका १९, माओवादी केन्द्रका १७, जनता समाजवादी पार्टीका ५ र राष्ट्रिय जनमोर्चाका १ सांसद पोखरेल सरकार परिवर्तनको पक्षमा देखिएका हुन् । जानकारीअनुसार कांग्रेस, माओवादी, जसपा र राजमोका सांसदले अविश्वासको प्रस्तावमा हस्ताक्षर गरिसकेका छन् ।
जनाइएअनुसार जसपा केन्द्रमा जस्तै प्रदेशमा पनि विभाजित अवस्थामा छ । महन्थ ठाकुर पक्षीय जसपाका १ सांसदले हालसम्म अविश्वासको प्रस्तावमा हस्ताक्षर गरेका छैनन् । उनको हस्ताक्षरसँगै गठबन्धनले अविश्वासको प्रस्ताव दर्ता गर्नेछ ।
यसअघि बिहिबार गण्डकी प्रदेशमा कांग्रेसका कृष्णचन्द्र नेपालीलाई भावी मुख्यमन्त्रीको रुपमा प्रस्ताव गर्दै अविश्वासको प्रस्ताव दर्ता गरिएको थियो । गठबन्धनले गण्डकीमा कांग्रेस र लुम्बिनीमा माओवादीलाई अगाडि सार्ने योजना बनाएको बुझिएको छ ।
सम्बन्धित समाचार
गण्डकी प्रदेशका मुख्यमन्त्री गुरुङविरुद्ध अविश्वास प्रस्ताव दर्ता
वि.सं.२०७८ वैशाख ३ शुक्रवार १३:०८ मा प्रकाशित






























