वैशाख ६, काठमाडौं । एमसीसी सम्झौता खारेजीलगायतका मुद्दामा नेत्रविक्रम चन्द ‘विप्लव’ नेतृत्वको नेकपासहितका विभिन्न २२ दलीय गठबन्धनले प्रदर्शन गरेका छन् । सोमबार २२ दलीय गठबन्धनले माईतीघर मण्डला, काठमाडौंमा प्रदर्शन गरेको हो ।
प्रदर्शनमा सहभागीले ‘एमसीसी सम्झौता खारेज गर, राष्ट्रघाती सरकार मुर्दावाद, राष्ट्रिय स्वाधिनताको रक्षा गरौं, भारतीय सेना कालापानी छोड, लिम्पियाधुरासहितको भू–भाग नेपालमा कायम गर, असमान सन्धी सम्झौता खारेज गर’लगायतका नारा लगाएका थिए ।
प्रर्दशनमा नेकपा (मसाल), नेकपा (क्रान्तिकारी माओवादी), नेकपा (माले), नेपाल कम्युनिष्ट पार्टी, नेकपा (माओवादी), नेकपा संयुक्त लगायतका २२ दलीय गठबन्धनका दलहरुको सहभागीता थियो । २२ दलीय गठबन्धनले एमसीसी सम्झौता खारेजीलगायतका मुद्दामा निरन्तर प्रदर्शन गर्दै आएको छ ।
वि.सं.२०७८ वैशाख ६ सोमवार १२:५० मा प्रकाशित






























