६ वैशाख, काठमाडौं । सरकारले सरकारले कोरोनाको नयाँ भेरियन्टको जोखिम बढेको भन्दै ६ महानगरपालिकासहित ४० स्थानीय तहका शैक्षिक संस्थाहरु बन्द गर्ने निर्णय गरेको छ ।
सोमबार बसेको मन्त्रिपरिषद्को बैठकले वैशाख मसान्तभर विद्यालय बन्द गरी अनलाइन कक्षा सञ्चालन गर्ने निर्णय गरेको हो ।
जस अनुसार काठमाडौं, ललितपुर, भक्तपुर जिल्लाका सबै महानगरपालिका तथा नगरपालिकाका शैक्षिक संस्थाहरु बन्द रहने छन् । तर ललितपुरको कोन्ज्योसोम, बाग्मती र महांकाल गाउँपालिकालाई समोवश गरिएको छैन ।
त्यस्तै उपत्यकाबाहिर बिरागनगर, वीरगञ्ज, भरतपुर र पोखरा महानगरपालिकाका शैक्षिक संस्थाहरु तथा इटहरी, धरान, जनकपुर, हेटौडा, बुटवल, घोराही, तुल्सीपुर, नेपालगञ्ज र धनगढी उपमहानगरपालिकाका शैक्षिक संस्थाहरु पनि वैशाख मसान्तसम्म बन्द हुनेछन् ।
मेचीनगर, बिर्तामोड, दमक, राजविराज, बनेपा, धुलीखेल, सिद्धार्थनगर, वीरेन्द्रनगर, र भीमदत्तनगर नगरपालिकामा रहेका शैक्षिक संस्थाहरु पनि बन्द रहने छन् ।
यी स्थानमा भर्चुअल माध्यमबाट पठनपाठनको ब्यबस्था मिलाउनु पर्ने निर्णय सरकारले गरेको छ । उल्लेखित महानगरपालिका, उपमहानगरपालिका र नगरपालिकाहरुबाहेक अन्य नगरपालिका र गाउँपालिकाका शैक्षिक संस्थाहरुको पठन–पाठन भने सुचारु हुने सरकारले जनाएको छ ।
त्यस्तै पूर्वनिर्धारित परीक्षा कोरोना भाइरसविरुद्धको मापदण्ड पालना गरी सञ्चालन गर्न अनुमति दिने भएको छ । सरकारले कोरोना भाइरससँग सम्बन्धित मन्त्रिपरिषद्ले जारी गरेको आदेशअनुसार पहिल्यै तय भएका परीक्षा सञ्चालन अनुमति दिएको हो ।
त्यस्तै ट्युसन सेन्टर, तालिम पनि बैशाख महिनासम्म बन्द गर्नुपर्ने भएको छ ।
वि.सं.२०७८ वैशाख ६ सोमवार २०:१७ मा प्रकाशित