६ वैशाख, काठमाडौँ । सरकारले सार्वजनिक सवारीसाधनमा कडाई गर्ने भएको छ ।
सोमबार बिहान बसेको मन्त्रि परिषद् बैठकले सार्वजनिक यातायातले सिट क्षमता भन्दा बढी यात्रु राख्न नपाउने, सबै यात्रुलाई मास्क अनिवार्य गर्ने, चालक तथा सहचालकले मास्क र भाइजर लगाउनु पर्ने, सवारी साधनलाई दैनिक रुपमा निसङ्क्रमित गर्नुपर्ने लगायतको नियम अनिवार्य गरेको आदेश जारी गरेको छ ।
मास्क नलगाएको यात्रु भएमा चालक वा सहचालक एवम् व्यवस्थापकले बढीमा १० रुपैयाँ लिइ मास्क उपलब्ध गराउनुपर्ने, मास्क नलगाउने व्यक्तिलाई सवारी साधनमा प्रवेश गर्न नदिने व्यवस्था गरिएको छ । लामो दूरीका यातायातमा बीच बाटोमा यात्रु थप्न नपाउने र यात्रु संख्या कोरोना नियन्त्रणका लागि जिल्लामा गठित निकायलाई जानकारी दिनुपर्दछ ।
त्यस्तै आन्तरिक हवाइ उडानका यात्रुले मास्क अनिवार्य लगाउनुपर्ने र हवाइजहाजमा अनिवार्य स्यानिटाइजरको व्यवस्था गर्नुपर्ने आदेशमा छ ।
वि.सं.२०७८ वैशाख ६ सोमवार २१:२८ मा प्रकाशित






























