
वैशाख ८, काठमाडौं । नेकपा (एमाले)का नेता योगेश भट्टराईले प्रधानमन्त्री एवं पार्टी अध्यक्ष केपी शर्मा ओलीलाई नयाँ आधारबाट पार्टी एकतालाई अगाडि बढाउन आग्रह गरेका छन् । बुधबार प्रधानमन्त्री निवास बालुवाटारमा पुगेर भट्टराईले पार्टी विवादलाई नयाँ आधारबाट हल गर्न सुझाएका हुन् ।
उनले वरिष्ठ नेता झलनाथ खनाल र माधव नेपालसँग छलफल गर्न पनि ओलीलाई आग्रह गरेका छन् । प्रधानमन्त्रीसँगको भेटबारे सञ्चारमाध्यमसँग कुराकानी गर्दै उनले पार्टीलाई एकताबद्ध बनाउनुको विकल्प नरहेको सुझाब दिएको प्रतिक्रिया दिए ।
उनले विगतका कुरालाई समिक्षा गरेर नयाँ आधारमा अगाडि बढ्नुपर्ने सुझाब दिएको बताएका छन् ।
ओलीले मंगलबार मात्रै भट्टराईसहित माधव पक्षीय २७ सांसदहरुमाथि कारबाही प्रक्रिया अगाडि बढाउने ढंगले स्पष्टीकरण सोधेका छन् । २ दिनको समयसीमा राखेर सोधिएको स्पष्टीकरणमा पार्टीबाट किन निष्कासन नगर्ने भनि प्रश्न गरिएको छ ।
स्मरणरहोस् नेता भट्टराई पछिल्लो पार्टी विवादमा तटस्थ भूमिकामा देखिएका छन् । उनको भूमिकाप्रति प्रश्न गर्दै कतिपयले ओली पक्षमा लाग्न लागेको पनि टिप्पणी गरेका छन् ।