
वैशाख ९, काठमाडौं । नेकपा (एमाले)का अध्यक्ष केपी शर्मा ओली र नेता माधवकुमार नेपालबीचको भेटवार्ता सकिएको छ । बिहीबार मेरिटय होटलमा झण्डै डेढ घण्टासम्म चलेको भेटवार्ता सकिएको हो ।
वार्तामा कुनै प्रगति नभएको नेता नेपालले बताएका छन् । वार्ता पछि सञ्चारकर्मीलाई प्रतिक्रिया दिँदै उनले भने, ‘कुराकानीमा कुनै प्रगति छैन ।’
यसअघि ओली र नेपालबीच बुधबार पनि सोही होटलमा झण्डै २ घण्टासम्म ‘वान टु वान’ वार्ता चलेको थियो । जनाइएअनुसार वार्तामा नेता नेपालले फागुन २८ गते र सोही पछि ओलीले बसाएका बैठक र बैठकको निर्णय फिर्ता हुनुपर्ने अडान राखेका छन् । यता ओलीले भने आफुँले पार्टीको विधानअनुसार निर्णय लिएको भन्दै फिर्ता नहुने बताईरहेका छन् ।
अदालतको आदेशसँगै नेकपा (एमाले) ब्यूँतिएपछि गत फागुन २८ मा ओलीले आफुँ पक्षीय केन्द्रीय समितिको बैठक राख्दै एकल रुपमा निर्णयहरु गराएका थिए । उनले माओवादी छाडेका नेताहरुलाई पार्टी केन्द्रीय समितिमा मनोनित गर्नेदेखि पदाधिकारी समिति खारेज गर्दै पार्टी विधान संशोधनसमेत गरेका छन् ।