१० वैेशाख, धरान । सुनसरीको भोक्राह नरसिंह गाउँपालिका अध्यक्ष महेन्द्रप्रसाद यादव नाबालिका बलात्कार गरेको आरोपमा आइतबार साँझ पक्राउ परेका छन् ।
संखुवासभा घर भई परिवारसँग इटहरीमा बस्दै आएकी १७ वर्षीया किशोरीलाईलाई जबर्जस्ती करणी गरेको आरोपमा ५४ वर्षे अध्यक्ष यादवलाई इलाका प्रहरी कार्यालय धरानका प्रहरीले पक्राउ गरेको हो ।
अध्यक्ष यादवले ती बालिकालाई गाउँपालिकामा जागिर लगाइदिने प्रलोभनमा पारी मादक पदार्थ सेवन गरी जबरजस्ती करणी गरेको अभियोगमा प्रहरीले पक्राउ गरेको हो ।
यादवले ती किशोरीलाई धरान उपमहानगरपालिका-१३ स्थित डुकु होटल एण्ड लजको कोठामा जबर्जस्ती करणी गरेको भन्ने खबर प्राप्त हुनासाथ प्रहरी परिचालन भएको थियो । पीडित किशोरीकी आमा र दिदीले यादवविरुद्ध उजुरी दिएका थिए । प्रहरी कार्यालय धरानका प्रहरी नायब उपरीक्षक ज्ञानेन्द्र बस्नेतका अनुसार यादवलाई बुधबार सुनसरी जिल्ला अदालतमा म्याद थप गरेर अनुसन्धानका लागि हिरासतमा राखेको छ ।
अध्यक्ष यादवले आफ्नो र किशोरीको नक्कली नाम लेखाएर कोठा बुक गरेको पनि प्रहरीको अनुसन्धानबाट खुलेको बताइएको छ । घट्ना सम्बन्धमा प्रहरीले थप अनुसन्धान गरिरहेको जनाएको छ ।
वि.सं.२०७८ वैशाख १० शुक्रवार ०९:५५ मा प्रकाशित






























