१० वैशाख, काठमाडौँ । गैरआवासीय नेपाली संघ(एनआरएनए)ले अन्तत ४ वर्षपछि लाप्राक नमूना बस्तीमा बनेको ५ सय ७३ वटा घर लाभग्राहीलाई हस्तान्तरण गरेको छ ।
बिहिबार एक समारोह बीच संघका अध्यक्ष कुमार पन्त र राष्ट्रिय पुनर्निर्माण प्राधिकरणका प्रमुख कार्यकारी अधिकृत सुशील ज्ञवालीले संयुक्त रुपमा धार्चे गाउंपलिकाका लाभग्राहिहरुलाई लालपूर्जासहित लाप्राक नमूना बस्तीका घरहरु हस्तान्तरण गरेकाे एनआरएनए सचिवालयले जनाएको छ ।
२०७३ साल बैशाख १२ गते राष्ट्रपति विद्यादेवी भण्डारीको समुपस्थितिमा नेपाल सरकार सहरी विकास मन्त्रालय, राष्ट्रिय पुनर्निर्माण प्राधिकरण र गैरआवासीय नेपाली संघ वीच त्रिपक्षिय सम्झौता सम्पन्न भई नमूना बस्तीको निर्माण कार्य सुरु भएको थियो । वि.सं २०७२ साल वैशाख १२ गतेको विध्वंशकारी भूकम्पका कारण प्रभावित गोरखा जिल्लाको लाप्राकस्थित धार्चे गाउंपालिका वडा नम्बर ४ मा गैरआवासीय नेपाली संघको प्रत्यक्ष सक्रियतामा ५ सय ७३ वटा नीजि आवास निर्माण सम्पन्न भएको हो ।
शिलापत्रमा उल्लेख भएअनुसार संघले दाताहरुबाट ४२ करोड २५ लाख ४५ हजार १३७ रुपौइाँ ८७ पैसा प्राप्त गरेको छ । जसअनुसार सबैभन्दा बढी सहयोग दिनेमा एनआरएनए अष्टेलिया रहेको छ । एनआरएनए अष्ट्रेलियाले ९ करोड २८ लाख २२ हजार ७८३ रुपैयाँ ३७ पैसा सहयोग गरेको छ ।
समारोहमा प्रमुख अतिथि रहेका राष्ट्रिय पुनर्निर्माण प्राधिकरणका प्रमुख कार्यकारी अधिकृत सुशील ज्ञवालीले नमूना वस्ती हस्तान्तरण गर्न पाएकोमा नेपाल सरकारको तर्फबाट संघ तथा सहयोग गर्ने सम्पूर्ण गैरआवासीय नेपाली तथा संघ संस्थाहरुप्रति आभार प्रकट गरे । सो अवसरमा उनले पूर्वाधार बिकासको लागि प्राधिकरणले प्रति घर चार लाख अथवा २३ करोड रकम उपलब्ध गराउने बताए ।
संघका अध्यक्ष कुमार पन्तले संघको अथक प्रयास र परिश्रमबाट यो बस्ति निर्माण भई हस्तान्तरण गर्न पाउँदा अत्यन्त खुशी लागेको बताउँदै निर्माण गर्न भन्दा त्यसको सम्भार गर्न अझ कठिन र महत्वपूर्ण रहेको औंल्याए । उनले बस्ती निर्माणमा सहयोग गर्ने राष्ट्रिय पुनर्निर्माण प्राधिकरण, शहरी बिकास मन्त्रालय, गैरआवासीय नेपालीहरु, केयर नेपाल, नेपाली सेना, लाभग्राहिहरु र गाउंपालिका तथा बडा कार्यालय लगायत अन्य संघसंस्थाहरुलाई धन्यवाद व्यक्त गरे ।
साथै उनले प्रमुख संरक्षक तथा पूर्व अध्यक्ष डा. शेष घले, संरक्षक तथा निवर्तमान अध्यक्ष, भवन भट्ट र सल्लाहकार जमुना गुरुङलाई बिषेश धन्यवाद दिएका थिए ।
संघका उपाध्यक्ष तथा परियोजना संयोजक सोनाम लामाले झण्डै ५७,६६,०४,८३६.४९ रुपैयाँको लागतमा निर्माण भएको जानकारी गराउँदै सो बस्तीको लागि आर्थिक सहयोग गर्ने विश्वभर छरिएका गैरआवासीय नेपालीहरु, संघसंस्थाहरु लगायत नेपाल सरकार, स्थानीय सरकार, सम्पूर्ण दाता एवं अन्य रुपमा सहयोग गर्ने सहयोगी सबैप्रति हार्दिक आभार तथा धन्यवाद व्यक्त गरेका थिए ।
तीन नम्बर गणका गणपति, साहयक रथी, कुमार बाबु थापाले नेपाली सेना यस पुनर्निमाण कार्यमा सहभागी हुने अवसर पाएकोमा गौरवान्वीत भएको बताउंदै नेपाली सेनाले राष्ट्रिय निर्माणका विभिन्न काममा सहभागी रहँदै आएको जानकारी गराएका थिए ।
हस्तान्तरण समारोहमा धार्चे गाउपालिका वडा नं. ४ का अध्यक्ष राजु गुरुङले सहभागीहरुको सम्मानमा स्वागत मन्तब्य दिएका थिए ।
त्यस्तै धार्चे गाउंपालिकाका अध्यक्ष सन्त बहादुर गुरुङले धन्यवाद मन्तब्य दिनुका साथै सहभागीहरुलाई मायाको चिनो दिएका थिए । जग्गा धनिपूर्जा सहित नमूना बस्तीका घरहरु हस्तान्तरण गरेकोमा उनले नेपाल सरकार र गैरअवासीय नेपाली संघलाई हार्दिक धन्यवाद प्रकट गरे ।
कार्यक्रममा सांसद हरिराज अधिकारी, राष्ट्रिय पुनर्निर्माण प्राधिकरणका प्रतिनिधिहरु, गाउंपालिकाका उपाध्यक्ष, पूल माया गुरुङ, सल्लाहकार एसि शेर्पा, उपाध्यक्षहरु डा बद्री केसी, सोनाम लामा, रवीना थापा, सचिव गौरीराज जोशी, युवा संयोजक हिमाल गुरुङ, एशिया प्रशान्तका क्षेत्रीय उपसंयोजक खगेन्द्र न्यौपाने, अमेरिकाजका क्षेत्रीय उपसंयोज राम चन्द्र पोखरेल, युरोपका क्षेत्रीय उपसंयोजक कृष्ण तिमिल्सिना, आइसिसि सदस्य चिन्तामणि सापकोटा, तमूधि यूके प्रतिनिधि कृष्ण गुरुङ लगायत विभिन्न मुलुकबाट आएका गैरआवासीय नेपालीहरु, संचारकर्मीहरु, स्थानीय जनप्रतिनिधिहरु, लाभग्राहीहरु लगायत स्थानीय जनताहरुको सहभागीता रहेको थियो ।
संघले बस्ती निर्माणमा सहयोग गर्ने १६८ दाताहरुो नामसहितको शिलापत्र राखेको छ । सो अवसरमा दाताहरुको नाम भएको शिलापत्रको अनावरण समेत गरिएको छ । शिलापत्रमा उल्लेख भएअनुसार संघले दाताहरुबाट ४२ करोड २५ लाख ४५ हजार १३७ रुपौइाँ ८७ पैसा प्राप्त गरेको छ । जसअनुसार सबैभन्दा बढी सहयोग दिनेमा एनआरएनए अष्टेलिया रहेको छ । एनआरएनए अष्ट्रेलियाले ९ करोड २८ लाख २२ हजार ७८३ रुपैयाँ ३७ पैसा सहयोग गरेको छ ।
वि.सं.२०७८ वैशाख १० शुक्रवार १०:२५ मा प्रकाशित

































