वैशाख १०, काठमाडौं । नेकपा (एमाले)का नेता भीम रावलले आफुँहरुले अन्तिमसम्म केपी ओलीका गलत कामहरुको प्रतिवाद गरिरहने बताएका छन् । उनले आफुँहरु पार्टीभित्रै रहेर संघर्ष गर्ने बताए ।
शुक्रबार रिपोर्टस क्लब नेपालले आयोजित गरेको साक्षात्कारमा बोल्दै उनले ओलीले पुरै पार्टी फुटाउने अवस्थामा आफुँहरुले निर्णायक कदम चाल्ने बताए । ‘हामी अन्तिमसम्म एमालेलाई जोगाउने प्रर्यत्न गर्छौं, आधा त उहाँले फुटाईसक्नु भएको छ, उहाँले पुरै फुटाउनुभयो भने हामी निर्णायक कदम चाल्छौं’, रावलले भनेका छन्, ‘त्यो भनेको प्रतिवाद गर्ने हो, संगठीत रुपमा प्रतिवाद गर्ने ।’
पत्रकारको प्रश्नमा नेता रावलले आफुँहरु पार्टी छाडेर नजनो पनि बताए । महाधिवेशनबाट निर्वाचित भएको कमिटीलाई हटाउने अधिकार ओलीको नरहने उनको भनाई छ ।
‘हामी एमालेमा टाँसिएका हैनौं, हामी एमालेका निर्माता हौं, नवौं राष्ट्रिय महाधिवेशनबाट उपाध्यक्ष पदमा केपी शर्मा ओलीभन्दा बढि मत ल्याएर निर्वाचित भएको मान्छे हुँ म, ओलीले म महाधिवेशनबाट निर्वाचित अध्यक्ष कसरी हटाउने अधिकार हुन्छ भन्नुहुन्छ अनि हामी पनि निर्वाचित कसरी हट्छौं ?’, उनले भनेका छन् ।
ओलीले फागुन २८ देखि निरन्तर राजनीतिक दलसम्बन्धी ऐन, नेकपा एमालेको विधि र विधान विपरित अवैद्य कदमहरु चालिरहेको रावलको भनाई छ । उनले त्यस्ता अवैद्य कदमलाई देशव्यापी भण्डाफोर गरिने बताए ।
वि.सं.२०७८ वैशाख १० शुक्रवार १७:४४ मा प्रकाशित






























