११ वैशाख, काठमाडौँ । त्रिदेशीय शृंखलाअन्तर्गत नेदरल्यान्ड्सविरुद्धको फाइनलमा १४२ रनको विशाल अन्तरले नेपाली क्रिकेट टिम विजयी बनेको छ । शनिवार भएको फाइनल खेलमा नेपालले नेदरल्यान्ड्सलाई विशाल अन्तरले पराजित गर्दै त्रिकोणात्मक टि २० आई सिरिजको उपाधि जितेको हो ।
जितको लागि २ सय ३९ रनको विशाल विजयी लक्ष्य पछ्याएको नेदरल्यान्ड्स १७।२ ओभरमा ९६ रनमा अल आउट भयो । त्यसअघि टियु क्रिकेट मैदानमा टस हारेर पहिला ब्याटिङ थालेको नेपालले निर्धारित २० ओभरमा ३ विकेट गुमाउँदै २ सय ३८ रन बनाएको थियो । टी(२० क्रिकेटमा नेपालको अहिलेसम्मकै उच्च स्कोर रह्यो ।
नेदरल्यान्ड्सका सेबास्टियन ब्राट २६, ओपनर म्याक्स ओडाउडले सर्वाधिक २० र कप्तान पिटर शिलार १३ रन बनाए । अन्यले राम्रो प्रदर्शन गर्न सकेनन् ।
नेपालका स्पिनर सन्दीप लामिछानेले ४ ओभरमा २६ रन खर्चेर २ विकेट लिए । करण केसीले ३ ओभरमा ११ रन खर्चेर ३ विकेट लिए । कमलसिंह ऐरीले २ र अभिनाश बोहराले १ विकेट लिए ।
नेपालले टि २० आई इतिहासकै सर्वाधिक ठूलो अन्तरको जितको हो । यसअघि रनको आधारमा नेपालले २०१९ मा भुटानलाई १ सय ४१ रनको फराकिलो अन्तरले पराजित गरेको थियो । नेपालले सन् २०१८ अक्टोबरमा मलेसियामा भएको आइसिसी वल्र्ड टि२० एसिया क्वालिफायर बी को उपाधि जितेको थियो । नेपालले सन् २०१९ जुलाईमा मलेसियासँग दुई टि२० सिरिजमा क्लिनस्विप गरेको थियो । २०१९ को सुरुवातमै यूएईसँगको तीन टि २० आई सिरिज २–१ ले जितेको हो । नेपालले त्रिकोणात्मक सिरिज भने पहिलो पटक जितेको हो ।
कुशललाई अर्धसतक
जारी सिरिजमा नेपालका ओपनर कुशल भुर्तेलले ५३ बलमा ८ चौका र ३ छक्का सहित सर्वाधिक ७७ रनको योगदान दिए । कुशलको यो चौथो अर्धशतक हो । उनि नेपालबाट एकै सिरिजमा सर्वाधिक अर्धशतक बनाउने खेलाडी पनि बनेका छन् । कुशलले १३ औैं ओभरको चौथो बलमा छक्का साथ ४३ बलमा अर्धशतक पूरा गरेका थिए ।
वि.सं.२०७८ वैशाख ११ शनिवार १७:२९ मा प्रकाशित






























