११ जेठ, दिल्ली । भारतमा कोरोना संक्रमित हुनेको संख्या निरन्तर घटिरहेको छ । भारतमा सोमबार १ लाख ९५ हजार ६८५ जना कोरोना संक्रमित थपिएका छन् । समाचार ऐजेन्सीका अनुसार संक्रमित हुनेको यो संख्या ४२ दिनयताकै सबैभन्दा कम हो । यस अगाडि १३ अप्रिलमा १ लाख ८५ हजार ३०६ जनामा संक्रमण भएको तथ्यांक सार्वजनिक भएको थियो । भारतमा एकैदिन ४ लाख भन्दा बढी संक्रमित भएको तथ्यांक रहेको छ ।
त्यसैगरी त्यहाँ सोमबार ३४९६ जनाको मृत्यु भएको छ । भारतमा मृत्यु हुनेको संख्यामा पनि कमी हुँदै गइरहेको छ भने निको हुनेको संख्या दोब्बर रहेको छ । भारतमा सोमबार ३ लाख ४९६ जना संक्रमण मुक्त भएका छन् ।
भारतमा हालसम्म कोरोना संक्रमित हुनेको संख्या २ करोड ६९ लाख पुगेको छ । सोहि अवधिमा २ करोड ४० लाख संक्रमित संक्रमणबाट मुक्त भएका छन् । साथै हालसम्म ३ लाख ७ हजारले ज्यान गुमाइसकेका छन् ।
भारतका विभिन्न राज्यमा हाल २५ लाख ८१ हजारको उपचार भइरहेको छ ।
त्यसैगरी सबैभन्दा बढी प्रभावित राज्य महाराष्ट्रमा सोमबार २२ हजार १२२ जना नयाँ संक्रमित थपिएका छन् भने सोहि अवधिमा ४२, ३२० जना संक्रमण मुक्त भएका छन् ।
महाराष्ट्रमा सोमबार ५९२ जनाको मृत्यु भएको छ । त्यहाँ केही दिनयता कोरोना संक्रमित हुने र मृत्यु हुनेको संख्या घट्दै गएको छ ।
महाराष्ट्रमा हालसम्म संक्रमितको संख्या ५६ लाख २ हजार पुगेको छ । ती मध्ये ५१ लाख ८२ हजार जना निको भइसकेका छन् । त्यहाँ हालसम्म ८९ हजार २१२ जनाको ज्यान गइसकेको छ भने हाल ३ लाख २७ हजार जनाको उपचार भइरहेको छ ।
दिल्लीमा सोमबार १५५० जनामात्रै संक्रमित भएका छन् । सोहि अवधिमा ४३७५ जना निको भएका छन् । साथै सोहि अवधिमा २०७ जनाको मृत्यु भएको छ । दिल्लीमा संक्रमित हुनेको संख्यामा कमि आएपनि मृत्यु हुनेको संख्या भने घटेको छैन ।
दिल्लीमा हालसम्म १४ लाख १८ हजार संक्रमित भइसकेका छन् भने १३ लाख ७० हजार निको भइसकेका छन् । दिल्लीमा हाल २३,४०९ जनाको मृत्यु भएको छ भने हाल २४ हजार ५७८ जनाको उपचार भइरहेको छ । दिल्लीमा पछिल्ला केही दिनयता कोरोनाबाट संक्रमित हुनेको संख्या नेपालको भन्दा कमी रहेको देखिन्छ । नेपालमा सोमबार १५५० जना संक्रमित भएका थिए भने नेपालमा सोहि अवधिमा ७४२५ जनामा संक्रमण देखिएको थियो ।
वि.सं.२०७८ जेठ ११ मंगलवार १२:५२ मा प्रकाशित






























