१. पृष्ठभूमि
चाहे सरुवा रोगहरू (कोभिड/१९, रुघाखोकी, टिबी, हैजा, दादुरा, डेङ्गु आदि) होउन् वा नसर्ने रोगहरू (क्यान्सर, मधुमेय, रक्तचाप, मुटु सम्बन्धी रोग आदि) होउन् तिनीहरूसंग लड्न सक्ने वा तिनको प्रतिरोध गर्न सक्ने हाम्रो शरीरको शक्ति कति छ त्यसै अनुसार हामीलाई ती रोग लाग्ने वा नलाग्ने हुन सक्दछ । त्यही प्रतिरोध क्षमताका आधारमा हामीलाई तिनले सारो गाह्रो पार्ने वा हामीले तिनलाई सजिलै परास्त गर्न सक्ने भन्ने कुरा निर्भर गर्दछ । त्यसैले जुनसुकै अवस्थामा पनि हामीले हाम्रो शरीरको रोग प्रतिरोधात्मक क्षमता राम्रो बनाइ राख्नु आवश्यक हुन्छ । कोभिड/१९ को महामारीको यस घडीमा त हाम्रो शरीरको रोग प्रतिरोधात्मक क्षमता बढाउनु झनै आवश्यक हुन्छ । यसका लागि सन्तुलित पौष्टिक आहार, नियमित शारिरीक व्यायाम/परिश्रम, योग (योगा)/ध्यान; व्यक्ति, सर/सामान र घर/कार्यालयको राम्रो सरसफाई आदि महत्वपूर्ण हुन्छन् । यीनै कुराहरू मध्ये यस लेखमा हाम्रो शरीरको रोग प्रतिरोधात्मक क्षमता बढाउनका लागि सन्तुलित पौष्टिक आहारको भूमिका र मुख्यत कुन कुन पौष्टिक तत्वहरूले रोगसंग लड्न सक्ने क्षमता बढाउन मद्धत गर्दछन् र ती पौष्टिक तत्वहरू कुन कुन खाद्यवस्तुमा बढी मात्रामा पाइन्छन् भन्ने बारे सरल भाषामा छोटकरीमा चर्चा गरिएको छ। त्यसैगरी कोभिड-१९ बाट बच्न कडाईका साथ पालना गर्नु पर्ने मुख्य नियमका बारेमा पनि यहाँ केही कुराहरू उठान गरिएको छ । आशा छ यो लेखमा उठाइएका विषयवस्तुको प्रयोगबाट हाम्रा सर्वसाधारण किसान तथा समग्र नागरिकहरू लाभान्वित हुन सक्नु हुनेछ।
२. हाम्रो शरीरका लागि पोषकतत्वहरू
हाम्रो शरीरलाई सक्षम बनाइ राख्न अर्थात हाम्रो शरीरको रोग प्रतिरोधात्मक शक्तिलाई मजबुत बनाउन हामीलाई धेरै प्रकारका पोषकतत्वहरू आवश्यक पर्दछन्। मोटामोटी रूपमा ती पोषकतत्वहरूलाई (क) कार्वोहाइड्रेट, (ख) प्रोटिन, (ग) चिल्लो पदार्थ, (घ) खनिज पदार्थ र (ङ) भिटामिन गरी पाँच समूहमा राख्न सकिन्छ । कार्वोहाइड्रेटले शरीरलाई चाहिने शक्ति प्रदान गर्दछ । कार्वोहाइड्रेटसंग जोडिएर आउने अर्को खाद्यपदार्थ रेसा पनि हो। रेसाले पाचन प्रणालीलाई ठीक अवस्थामा राख्न मद्धत गर्दछ । प्रोटिनले शरीरको वृद्धि र विकासका साथै मर्मत सम्हारको काम गर्दछ। चिल्लो पदार्थ पनि शक्ति प्रदान गर्ने स्रोत हो र यसले शरीरमा भिटामिनहरू सोस्न पनि मद्धत गर्दछ । पानीलाई पोषकतत्व नभनिए पनि यो पोषकतत्वहरूभन्दा कम महत्वको छैन। कोरोना संक्रमणको अवस्थामा त पानी झनै बढी पिउनु पर्दछ। शरीरको उचित तापक्रम कायम राख्न, खनिजतत्व र भिटामिनहरूलाई घुलनशील बनाई राख्न र शारीरिक क्रिया सुचारु राख्न पानी कै मुख्य भूमिका रहेको हुन्छ।
शक्ति प्रदान गर्ने र शरीरको वृद्धि/विकास गर्ने खाद्यवस्तु (कार्वोहाइड्रेट, प्रोटिन र चिल्लो पदार्थ) बढी मात्रामा चाहिने पौष्टिक पदार्थ अर्थात बृहत पोषकतत्वहरू (Macronutrients) हुन् भने शरीरलाई सुरक्षा गर्ने (खनिजतत्व (Minerals) र भिटामिनहरू) कम मात्रामा चाहिने (तर दिनहुँ चाहिने) पौष्टिक पदार्थ अर्थात सूक्ष्म पोषकतत्वहरू (Micronutrients) हुन। यी सूक्ष्म पोषकतत्वहरू मध्ये कतिपयलाई हाम्रो शरीरले केही समयको लागि संचित गरेर राख्न सक्दछ भने कतिपयलाई शरीरले संचित गरेर राख्न सक्दैन, जस्तै भिटामिन/सी। त्यस्ता शरीरले संचित गरेर राख्न नसक्ने पोषकतत्वहरूको नियमित परिपूर्तिका लागि दिनदिनै सेवन गर्न जरुरी हुन्छ। यी कम मात्रामा चाहिने पोषकतत्वहरू मध्ये कुनै हाम्रो शरीरलाई अलि बढी (थोरै मध्येको धेरै) चाहिन्छन् त कुनै कम र कुनै अति कम चाहिन्छन् । तर धेरै या थोरै जति चाहिने भए तापनि हाम्रो शरीरमा तिनको महत्व उस्तै वा उत्तिकै हुने गर्दछ, अर्थात तिनीहरू कम चाहिने भएकाले कम महत्वका भन्ने चाहिँ हुदैन ।
हाम्रो शरीरलाई स्वस्थ एवं तन्दुरुस्त राख्नका लागि खनिज पदार्थ र भिटामिनहरू नभई नहुने पोषकतत्वहरू हुन । हाम्रो सबै शारीरिक एवं मानसिक प्रक्रिया सुचारु गर्नका लागि र हाड, दाँत, तन्तुहरू, रगत, मांसपेशी तथा स्नायुका कोशिकाहरू बन्न तथा तिनलाई क्रियाशील बनाई राख्न खनिजतत्व र भिटामिनहरूको जरुरत पर्दछ । यिनै खनिजतत्वहरूले नै हाम्रो रगत र कोशिकाहरूमा व्याप्त एक प्रकारको रस (Tissue fluid)लाई बढी अम्लीय वा क्षारीय हुनबाट बचाउँछन्। खनिज पदार्थहरूको सन्तुलित उपलब्धता बिना शरीरलाई आवश्यक पर्ने भिटामिनहरू पनि उपलब्ध हुन सक्दैनन् । त्यस हिसाबले खनिज पदार्थ र भिटामिनहरू एकआपसमा अत्यन्त अन्तरसम्बन्धित रहेको कुरा पनि बुझ्न जरुरी छ ।
एन्टिअक्सिडेन्टस् (Antioxidants): अक्सीकरण प्रतिरोधी अर्थात प्रतिअक्सीकारक यस्तो यौगिक वा अणु वा अणुहरूको समूह हो जो अन्य अणुहरूको सम्पर्कमा आउदा ती अणुहरूलाई अक्सीकरण (Oxidation) हुनबाट बचाउछन् वा ती अणुहरूको अक्सीकरण प्रक्रियाको गतिलाई ढिलो गराइदिन्छन्। त्यसैले यसलाई अक्सीकरण निरोधक वा प्रतिरोधी वस्तु पनि भनिन्छ। एन्टिअक्सिडेन्ट जस्तै हाम्रो शरीरमा अन्य थरी यौगिक वा अणुहरूको स्वतन्त्र समूह (Free radicals) पनि हुने/बन्ने गर्दछन् । यी फ्रि र्याडिकलहरू थोरै संख्यामा हुनु स्वास्थ्यका लागि राम्रै हुन्छ तर तिनको संख्या बढी हुन गएमा शरीरमा विभिन्न थरी रोगहरू (मधुमेय, उच्च रक्तचाप, क्यान्सर, मुटु सम्बन्धी रोग, पार्किन्सन्स, अलजाइमर, छिटो बुढ्यौलीपना लाग्ने आदि) उत्पन्न गराइदिन सक्छन् । त्यसकारण, त्यस्ता कुनै पनि समस्या उत्पन्न नहोउन्, कोभिड÷१९ लगायतका सरुवा रोगको प्रकोप पनि नहोस र रोग लागिहाले भने तिनले दुख दिन नसकुन् भन्नका लागि हाम्रो शरीरमा प्रशस्त एन्टिअक्सिडेन्टस् बनाइरहनु पर्दछ ।
कुनै एकथरी पोषकतत्वमा मात्र एन्टिअक्सिडेन्टस् पाइने नभई धेरैथरी पोषकतत्वहरूमा एन्टिअक्सिडेन्टस् पाइन्छन् । त्यस्ता मुख्य पोषकतत्वहरूमा भिटामिन ए, वी.६, बी.९, सी, डी र ई पर्दछन् भने खनिजतत्वहरूमा Zinc, Iron, सेलेनियम, तामा आदि पर्दछन् ।
३. रोग प्रतिरोधात्मक क्षमता वृद्धिका लागि मुख्य खाद्यवस्तुहरू
मानिसलाई रोग लाग्नु भनेको कुनै जीवाणु/शाकाणु/विषाणु शरीरभित्र प्रवेश गरेर शरीरको सामान्य गतिविधिमा असर पुर्याई शरीर सञ्चालनको नियमित प्रक्रियामा गतिरोध उत्पन्न गर्नु हो अर्थात् मानिसलाई संक्रमण हुनु वा रोग लाग्नु हो । हाम्रो शरीरमा प्रवेश गरेका जीवाणु/विषाणुसंग लड्न र तिनलाई परास्त गर्न सक्नु चाहिँ रोग प्रतिरोधी वा रोग प्रतिरोधात्मक क्षमता हो। जुन क्षमताका कारण हाम्रो शरीरमा जीवाणु/विषाणुले प्रवेश पाए पनि हामीलाई रोग ग्रस्त बनाउन सक्दैन। रोग लागेपछि उपचार गर्नुभन्दा रोग लाग्नै नदिनु वुद्धिमानी हुन्छ भन्ने भनाई हाम्रो जनजिब्रोमा ज्यादै गडेको/भिजेको उक्ति हो । त्यसमा पनि कोभिड-१९ बाट बच्न भरपर्दो औषधी, खोप तथा उपचारका अन्य उपायहरू उपलब्ध हुन नसकेको वर्तमान अवस्थामा हरसम्भव सबै उपायहरू अवलम्बन गरी कोरोना लाग्नै नदिनु सबभन्दा वुद्धिमानी हुन्छ। त्यसका लागि एउटा मुख्य उपाय भनेको हाम्रो शरीरको रोग प्रतिरोधात्मक क्षमता बढाउनु हो। रोग प्रतिरोधात्मक क्षमता बढाउनका लागि हाम्रो शरीरलाई सुरक्षा गर्ने पोषकतत्वहरू (भिटामिन र खनिजतत्वहरू) बढी पाइने खाद्यवस्तुहरू खानु पर्दछ, जसको बारेमा तल छोटकरीमा चर्चा गरिएको छ ।
रोग प्रतिरोधात्मक क्षमता बढाउने सम्पूर्ण खनिज तथा भिटामिनहरूको कार्य भए तापनि अलि बढी महत्वपूर्ण भूमिका खेल्ने भिटामिनहरूमा भिटामिन ए, वी/६, बी/९(फोलिक एसिड), सी, डी र ई पर्दछन् भने खनिजतत्वहरूमा सल्फरयुक्त यौगिक/ एलिसिन (Allicin)[2], जस्ता (Zinc), फलाम (Iron), सेलेनियम, तामा आदि पर्दछन्, जस्मा एन्टिअक्सिडेन्टस् पनि बढी मात्रामा पाइन्छन्। यी भिटामिन तथा खनिज÷यौगिकहरू खाद्यान्न तथा कार्वोहाइड्रेटयुक्त जरेबालीहरूमा बिरलै पाइन्छन् र त्यसका लागि ताजा तरकारी, फलफुल, दूध, अण्डा, माछा मासु आदि कै खपत बढाउनु पर्ने हुन्छ। प्राय सबैजसो ताजा तरकारी तथा फलफुलहरूमा यी भिटामिन तथा खनिजतत्वहरू पाइने भए तापनि कुनैमा बढी त कुनैमा कम पाइन्छन्। कुन कुन तरकारी, फलफुल तथा पशुजन्य पदार्थ (दूध, अण्डा तथा माछा, मासु)मा कुन भिटामिन तथा खनिजतत्वहरू बढी पाइन्छन् भन्ने जानकारी तालिका १ मा दिइएको छ । त्यसै अनुसार कोरोना संकटको यस घडीमा उपलब्ध हुन सक्ने ताजा तरकारी, फलफुल तथा पशुजन्य पदार्थहरूको खपत बढाउन जरुरी छ । नयाँ फलफुल खेती गरी त्यसको उत्पादन बढाउने कुरा छोटो समयमा सम्भव छैन तर छोटो समय मै धेरै थरी ताजा तरकारी उत्पादन गरी तत्काल खपत बढाउन सकिन्छ ।
तालिका १ हाम्रो शरीरको रोग प्रतिरोधात्मक क्षमता बढाउनका लागि आवश्यक केहि महत्वपूर्ण पोषकतत्वहरू र ती पोषकतत्वहरू उपलब्ध हुन सक्ने केहि मुख्य खाद्यवस्तुहरू
| पोषकतत्व | यो तत्व बढी मात्रामा प्राप्त हुने खाद्यवस्तुहरू |
| भिटामिन-ए | पालुङ्गो लगायतका गाढा हरियो सागपात, गाजर, फर्सी, सखरखण्ड, पहेँलो फलफुल (मेवा, आँप) आदि । |
| भिटामिन बी-६ | हरियो सागपात (बन्दा, पालुङ्गो, चम्सुर, रायो आदि), केरा, तर्बुजा/खर्बुजा, गोलभेँडा, मूला, सलगम, कलेजो, माछा, दाल, गेडागुडी आदि । |
| भिटामिन-सी | ब्रोकाउली, भेँडेखुर्सानी, पालुङ्गो, गोलभेँडा, क्याले, अमिला फलफूलहरू जस्तै सुन्तला, मौसम, जुनार, कागती, भुइँकाफल, किवी, भोगटे, अमला, अम्बा आदि । |
| भिटामिन-ई | पालुङ्गो, स्वीसचार्ड, सलगमको साग, ब्रोकाउली, सूर्यमुखी, फर्सी र जुकिनीको बीयाँ, कागजी बदाम, एभोकाडो, रेन्वो ट्राउट माछा, झिँगेमाछा, सकरखण्ड, फर्सी, किवी आदि । |
| भिटामिन बी-९ (Folic acid) |
ब्रोकाउली, भिंडी, सिमी, केराउ, मुसुरो, सागपात, चुकन्दर, मेवा, केरा, अण्डा, चीज, दूध, माछा, कलेजो, रातो मासु आदि । |
| फलाम | कोदो, च्याउ, पालुङ्गो, कर्कलो, चुकन्दर, स्वीस चार्ड, पाकचोय, सलगम, हरियो सिमी, केराउ, मुङ्ग, कुरिलो, किम्बु काफल, नरिवल, खुर्पानी आदि । |
| जस्ता (जिंक) | चाइनिज बन्दा, मुसुरोको टुसा, सीता÷के च्याउ, हरियो केराउ, काजु, ओखर, बदाम, चना, दहि, सिपी, गँगटा, कुखुरा, माछा (सेतो मासु – Lean meat) आदि । |
| तामा | काजु, सीता÷के च्याउ, कटुस, ओखर, कलेजो, मृगौला, मुटु, सिपी, गँगटा, एभोकाडो, चना, तिल, सूर्यमुखी र आलसको बीयाँ आदि । |
| सेलेनियम | च्याउ (white button mushroom), लसुन, ब्रोकाउली, बन्दा, पालुङ्गो, खैरो चामल, जौ, तिल, सूर्यमुखी र आलसको बीयाँ, टुना माछा आदि । |
माथि उल्लिखित सबैजसो खाद्यवस्तुहरूमा एन्टिअक्सिडेन्टस् पाइन्छन् । तिनमध्ये पालुङ्गो लगायतका गाढा हरियो सागपात, ब्रोकाउली, रातो वन्दा, केल (Kale), सिमी, भेँडेखुर्सानी, गोलभेँडा, गाजर, फर्सी, अमला, ओखर, काजु, सखरखण्ड, चुकन्दर, माछा आदिमा बढी मात्रामा पाइन्छन्।
माथि तालिका १ मा उल्लेख गरिएका तरकारी बाली मात्र होइन हाम्रै गाउँघरमा पाइने परंपरागत बालीहरू बेथे, लट्टे, लुडे, काने, न्युरो, तामा, टुसा, सिस्नो, खोले साग, तोरी तथा फापरको साग, फर्सी तथा स्कूसका मुन्टा, जलुको आदि पनि उत्तिकै पोषिला र हाम्रो स्वास्थ्यको लागि महत्वपूर्ण छन् । हरियो सागपात, तरकारी, दाल/गेडागुडी, फलफुल, अन्न, माछा/मासु, अण्डा, दूध/दहि आदि धेरै किसिमका खाद्यवस्तुहरू मिलाएर खानाले हामीलाई आवश्यक पर्ने सबै पोषकतत्वहरू उपलब्ध हुन सक्ने भएकाले जति सक्यो धेरै थरी खादा हाम्रो स्वास्थ्य सुरक्षित हुने सम्भावना बढी हुन्छ । त्यसैले घरका छतहरू, कौसी, गमला, करेसाबारी, गरा कान्ला, खोल्सा र पाखाहरू जहाँ जहाँ सम्भव हुन सक्छ ती सबै ठाउँहरूमा अहिले नै आ÷आफ्नो भौगोलिक अवस्थिति अनुसार जहाँ जे सम्भव हुन्छ सो तरकारी बाली लगाइहाल्न र गाउँघरमा पाइने परंपरागत बालीहरूको संरक्षण तथा सम्वर्द्धन गर्न आवश्यक छ । बजार बिक्रीका लागि खेती गर्न सक्ने किसानहरूले पनि सोहि अनुसार खेतबारीको ठूलो क्षेत्रफलमा ती तरकारी बालीहरू खेती गरी उत्पादन बढाउनु जरुरी छ ।
४. तत्काल खेती गर्न सकिने केहि तरकारी बालीहरू
हाम्रो जस्तो भौगोलिक विविधताले भरिपूर्ण देशमा तराईदेखि उच्च पहाडि भूभागमा एउटै सिजनमा पनि अनेक थरी तरकारी बाली लगाउन र उत्पादन गर्न सकिन्छ। जस्तै १६०० मिटरभन्दा माथि अवस्थित उच्च पहाडि भागमा चैत वैशाखदेखि भदौसम्मै काउली परिवारका बाली लगायत मूला, गाजर, सलगम, केराउ, रायो, स्वीसचार्ड, लट्टे, बेथे, तोरी तथा फापरको साग आदिको बीउ जमाउन वा बेर्ना सार्न सकिन्छ भने तल्लो तथा मध्य पहाडि क्षेत्र (८०० देखि १६०० मिटर)मा चैत वैशाखदेखि भदौसम्मै गोलभेँडा, काँक्रो, फर्सी, लौका, घिरौंला, करेला, सिमी, भण्टा, रामतोरिया, चुकन्दर, तोरी तथा फापरको साग, लट्टे, बेथे आदि लगाउन सकिन्छ । त्यसैगरी तराई/मधेश, टार, वेँसी तथा तल्लो पहाडमा अहिले अनगिन्ती तरकारी बाली लगाउन सकिन्छ, जस्तै काँक्रो, फर्सी, लौका, घिरौंला, करेला, बोडी, सिमी, भण्टा, रामतोरिया, सखरखण्ड, बेथे, लट्टे, फापर तथा तोरीको साग आदि । यसमा एउटा महत्वपूर्ण कुरा के छ भने यस संकटको घडीमा सागपात छिट्टै उत्पादन गर्नु पर्ने हुन सक्छ, त्यसका लागि फापर र तोरी जस्ता बाली पनि घुसाउनु पर्ने हुन्छ । किन भने बीउ छरेको १८,२० दिनभित्र फापरको साग तयार हुन्छ भने २२,२५ दिनमा तोरीको साग तयार हुन्छ । यति छिटो तयार हुने अन्य सागपात बिरलै पाइन्छन् ।
५. कोभिड-१९ बाट बच्न कडाईका साथ नियमको पालना
कोरोनाबाट बच्न भिडभाडमा जादै नजाने, घर बाहिर जानु पर्दा अर्कोव्यक्तिसंग दुई मिटरको दुरी कायम राख्ने, मास्क ठिकसंग र अनिवार्य रूपमा लगाउने, घरबाहिर जाँदा लगाइएका कपडा, जुत्ता मोजा घरमा आएपछि धोइहाल्ने वा सुरक्षित ठाउँमा राख्ने वा घाममा राम्ररी सुकाउने, बाहिर/पसलबाट ल्याइएका फलफुल, तरकारी, दूधका प्याकेट आदि राम्ररी धोइपखाली गरेर मात्र भान्साकोठामा लैजाने, बजारबाट ल्याइने अन्य खाद्यान्न तथा सरसामानहरू पनि घरमा ल्याई कम्तीमा तीनदिनसम्म सुरक्षित ठाउँमा राखेपछि मात्र प्रयोगमा ल्याउने आदि सामान्य नियमहरू कडाईपूर्वक पालना गर्नुपर्दछ ।त्यस्तै बाहिरका वस्तुहरू भाइरस संक्रमित भएका हुन सक्छन् भन्ने कुरालाई ध्यानमा राखि आवश्यकता अनुसार पटक पटक सावुन पानीले राम्ररी मिचिमिचि हात धुनु पर्दछ वा सेनेटाइजरको राम्ररी प्रयोग गर्नुपर्दछ । हात राम्ररी सफा गरिसकेपछि मुख तथा खुट्टा पनि राम्ररी धुनु पर्दछ । भाइरस संक्रमित व्यक्ति वा सरसामानको नजिक पुगिएछ कि भन्ने शंका लागेको अवस्थामा सकेसम्म छिटो सावुन पानीले हातमुख धोई नाक, मुख तथा आँखा राम्ररी धुनुपर्दछ र शरीर पुरै नुहाउनु पर्दछ । त्यसबेला सकेसम्म छिटो जलनेति गर्न (नाकभित्र पानी पठाएर सफा गर्न) सके झनै उत्तम हुनेछ ।
त्यसैगरी भाइरस सर्न सक्ने अन्य माध्यमहरूमा पसल पसल र मानिस मानिसका गोजीमा घुमिरहने पैसाका नोटहरू अनि मोवाइल फोन सेटहरू पनि मुख्य हुन सक्दछन् । संक्रमण फैलाउन यी दुई वस्तुहरूको भूमिका ठूलो छ भनिएको छ। त्यसैले सेनेटाइजरको उचित प्रयोगबाट पैसाका नोटहरू र मोवाइल सेटहरू राम्ररी सफा गर्दै जानु पर्दछ। पसलमा सामान किनेपछि फिर्ता आउने पैसाका नोट/सिक्काहरू पकेटमा हालेर घर आउने अनि घर आएपछि ती नोटहरूमा सेनेटाइजरको प्रयोग गरेर केहि फाइदा छैन। नोटहरू लिनासाथ राम्ररी भिज्ने गरी सेनेटाइजर प्रयोग गरेर कम्तीमा पाँच मिनेट छुट्टै राखी राम्ररी ओभाउन दिनु पर्दछ। राम्ररी ओभाएपछि मात्र ती नोटहरू पकेटमा राख्न सकिन्छ। पैसाका नोटहरू कोभिड संक्रमण फैलाउने एउटा महत्वपूर्ण माध्यम भएकाले नोटको सट्टा क्रेडिट कार्ड, एटिएम कार्ड, खल्ती, ई÷सेवा आदि उपायहरूको अवलम्बन गर्न सकेमा धेरै राम्रो हुनेछ। यस्ता अनेकौं भौतिक÷शारीरिक नियम पालनाकोसाथमा हाम्रो शरीरको रोग प्रतिरोधात्मक क्षमतालाई मजबुत बनाइ राख्न सकेमा कोरोनाबाट बच्न सकिन्छ, अर्थात कोरोना लागिहाले पनि हामीलाई रोगग्रस्त बनाउन सक्दैन ।
६. उपसंहारः
कोरोना संकटको यो जोखिमपूर्ण घडीमा रोग प्रतिरोधात्मक क्षमता बढाउने खालका पोषिलो खाना तथा सन्तुलित भोजन सबैका लागि अपरिहार्य छ। रोग प्रतिरोधात्मक क्षमता बढाउने खालका पोषकतत्वहरू मध्ये भिटामिनहरू मुख्यतः भिटामिन ए, वी/६, बी/९(फोलिक एसिड), सी, डी र ई छन् भने खनिजतत्वहरू मध्येमा जस्ता, फलाम, सेलेनियम, तामा आदि मुख्य छन्। यी भिटामिन तथा खनिजतत्वहरू बढी पाइने सागपात तथा तरकारीहरूमा पालुङ्गो, स्वीसचार्ड, सलगमको साग, क्याले, चाइनिज बन्दा, ब्रोकाउली, सकरखण्ड, गाजर, फर्सी, भेँडेखुर्सानी, गोलभेँडा, चुकन्दर, मुसुरोको टुसा, चना, सीता/के च्याउ, हरियो केराउ, सूर्यमुखी, फर्सी र जुकिनीको बीयाँ आदि मुख्य छन्। त्यस्तै फलफुलहरूमा सुन्तला, मौसम, जुनार, कागती, भुइँकाफल, किवी, अमला, कागजी बदाम, एभोकाडो, अम्बा काजु, ओखर, बदाम, मेवा, केरा आदि छन् । त्यसैगरी माछा तथा पशुजन्य पदार्थहरूमा दूध, दहि, चीज, रेन्वो ट्राउट माछा, झिँगेमाछा, अन्य माछा, सिपी, गँगटा, अण्डा, कलेजो, रातो मासु, कुखुरा, रातो मासु आदि मुख्य छन्। यी अनेकौं पोषिला खाद्यवस्तुहरूको नियमित सेवनबाट उल्लेख्य रूपमा रोग प्रतिरोधात्मक क्षमता बढाउन सकिन्छ। कोरोना संकटको बेला मात्र नभई अघिपछि पनि हामी स्वस्थ रहन र हाम्रो रोग प्रतिरोधात्मक क्षमता बढाई राख्न यी पोषणयुक्त खानपानले ठूलो मद्धत गर्ने भएकाले यसमा सदैव ध्यान पु¥याउनु आवश्यक छ। त्यसैगरी दुई वर्षमुनीका बालबालिका, किशोरी, गर्भवती एवं सुत्केरी जस्ता पोषण सुरक्षाका दृष्टिले संवेदनशील समूहहरूको पोषणमा त यसबारे झनै संवेदनशील हुन जरुरी छ । यसैले हरसम्भव सबै उपायहरूको प्रयोग गरी पोषिला ताजा तरकारीको उत्पादन बढाई सो को खपत बढाउनु आवश्यक छ । यो महत्वपूर्ण कार्यमा संघीय, प्रदेश र स्थानीय तीनै तहका सरकार र सम्भावित सबै सहयोगी निकायहरू एकआपसमा हातेमालो गर्दै एकद्वार प्रणालीबाट स्थानीय सरकारको नेतृत्वमा किसानहरूका लागि आवश्यक बीउ विजन लगायतका कृषि सामग्रीहरू उपलब्ध गराउन र किसानहरूबाट उत्पादित ताजा तरकारी बजार र उपभोक्तासम्म पु¥याउन आवश्यक सहयोग तदारुक्ताकासाथ गर्नु जरुरी छ । त्यसैगरी कोभिड-१९ बाट बच्न स्वास्थ्य सुरक्षाका सबै नियम तथा सरकारी निर्देशनहरू कडाईका साथ पालना गर्नुपर्दछ ।
[1] लेखकद्वय खाद्य तथा पोषण सुरक्षा सुधार आयोजना (FANSEP)मा कार्यरत हुनुहुन्छ ।
[2] जुन मुख्यतः लसुन, प्याज, छ्यापी, सालोट (Shallot) आदिमा पाइन्छ ।
वि.सं.२०७८ जेठ १३ बिहीवार १७:४७ मा प्रकाशित






























