१४ जेठ, काठमाडौँ । नेकपा एमाले(माधव समूह)की नेतृ सुष्मा राईले भेरी अस्पतालमा नर्स र डाक्टरहरुमाथि कुटपिट तथा अस्पताल तोडफोडको घटना हुनुमा सत्तासीन नै दोषी रहेको बताएकी छन् ।
सामाजिक सञ्जालमा उनले कुनै समय बलात्कार अभियोगमा मुद्दा खेपेका र पटक पटक महिलामाथि अभद्र व्यवहार गरेर जागिरसमेत गुमाएका मानबहादुर रावत जस्तो व्यक्तिलाई ओली गुटले संरक्षण गरेकै कारण भेरी अस्पताल काण्ड घट्न पुगेको बताएकी छन् ।
रावतजस्तो व्यक्तिलाई पार्टीकै नेता किन बनाइए र नेताहरुले किन संरक्षण गरे भन्ने गम्भिर सवाल गरेकी छन् ।
सञ्जालमा उनले लेखेकी छन् :
“हुन त डनलाई मन्त्री नै बनाउनेहरुबाट आश त के गर्नु ?
भेरी अस्पतालमा नर्स र डक्टरहरुमाथि कुटपिट तथा अस्पताल तोडफोडको घटनाको जति निन्दा गरेपनि कमै हुन्छ । अचम्म ! अपराधीलाई संरक्षण गर्ने ओली गुटको मूल प्रवृत्ति किन बन्दैछ ? सत्ताको आडमा समाजमा यस्ता अपराधीहरुको विगविगी बढेको बढ्यै हुने पो देखियो त ।
सत्तासीनहरुले ठुलै विचारक ठान्ने शंकर पोखरेलकै प्रदेश कमिटिमा कुनै समय बलात्कार अभियोगमा मुद्दा खेपेका र पटक-पटक महिलामाथि अभद्र व्यवहार गरेर जागिर खुस्केका मानबहादुर रावत कसरी अटे र पार्टीकै नेता बनाइए ? यो निकै सोचनीय विषय हो । थाह हुँदाहुँदै पोख्रेलहरुले किन यस्ता व्यक्तिलाई संरक्षण गरे ?
के रावतजस्ता बलात्कारीलाई समयमै जेलको छिंडीमा कोचिएको हुन्थ्यो भने भेरी अस्पतालमा आज यसरी नर्स र डक्टरहरुले कुटाइ खानुपर्थ्यो ? नबुझेको कुरा, समाजमा भाँडभैलो मच्चाउने यस्ता गुण्डा र बलात्कारीहरुलाई ओली गुटले पालन पोषण गर्नुको कारण के होला ? यसरी राजनीतिको अपराधीकरण गर्न पाइन्छ र ?”
वि.सं.२०७८ जेठ १४ शुक्रवार १७:५५ मा प्रकाशित