१४ जेठ, धनगढी । सुदूरपश्चिम प्रदेश सरकारमा मन्त्रीहरु हेरफेर भएका छन् । सुदूरपश्चिम प्रदेशका मुख्यमन्त्री त्रिलोचन भट्टले शुक्रबार चौथोपटक मन्त्रिमण्डल विस्तार गरेका छन् ।
मन्त्रीमण्डलमा एमालेबाट पूर्व सामाजिक विकासमन्त्री दीर्घ सोडारी, पूर्णा जोशी, लालबहादुर खड्का र माओवादीबाट मानबहादुर धामी थपिएका छन्।
सोडारीलाई भौतिक पूर्वाधार विकास मन्त्रालय, जोशीलाई आन्तरिक मामिला तथा कानून मन्त्रालय र खड्कालाई सामाजिक विकास मन्त्रालय र धामीलाई उद्योग, पर्यटन वन तथा वातावरण मन्त्रालयको जिम्मेवारी दिइएको छ।
नयाँ मन्त्रीमण्डलमा दोहोरिएका मन्त्री प्रकाशबहादुर शाहले आर्थिक मामिला तथा योजना मन्त्रालयको जिम्मेवारी पाएका छन् ।
यस्तै राज्यमन्त्रीमा चुनकुमारी चौधरी, मानबहादुर सुनार, अर्चना गहतराज र मना साउद नियुक्त भएका छन् । चौधरी, गहतराज र साउद एमाले र सुनार नेकपा माओवादीका हुन् । यो सँगै सुदूरपश्चिममा ११ सदस्यीय मन्त्रिमण्डल भएको छ ।
नेकपा एमालेको अध्यक्ष केपी शर्मा ओली पक्षको स्थायी समिति बैठकले प्रदेशमा माओवादी केन्द्रको नेतृत्वमा रहेको सरकारबाट समर्थन फिर्ता लिने निर्णय गरेको थियो । तर प्रदेशसभा संसदीय दलले समर्थन कायमै राख्ने निर्णय गरेसँगै भट्ट सरकार जोगिएको थियो ।
वि.सं.२०७८ जेठ १४ शुक्रवार २१:०५ मा प्रकाशित






























