१६ जेठ, काठमाडौं । चिकित्सक संघले चिकित्सकको सुरक्षाका लागि सातदिनभित्र अध्यादेश ल्याउन सरकारसँग माग गरेको छ ।
महामारीको अवस्थामा पनि चिकित्सक तथा स्वास्थ्यकर्मीमाथि निरन्तर आक्रमण भइरहेको हुनाले यस्ता घटना घटाउनेलाई कडा कारबाहीका लागि सातदिन भित्र अध्यादेश ल्याउन सरकारसँग माग गरेको हो ।
संघले ७ दिनभित्र अधयादेश ल्याएर चिकित्स तथा स्वास्थ्यकर्मीको सुरक्षा प्रत्याभूति हुने वातावरण नभएमा थप कडा कदम चाल्न बाध्य हुने र त्यसको जिम्मा सरकारले लिनुपर्ने चेतावनी समेत दिएको छ ।
‘नेपाल चिकित्सक संघ भेरी अस्पतालको घटनामा संलग्न व्यक्तिलाई कडा भन्दा कडा कारबाही गर्न र आजको मितिबाट ७ दिनभित्र देशभरीका चिकित्सक तथा स्वास्थ्यकर्मीलाई सुरक्षाको प्रत्याभुति हुने अध्यादेशमार्फत् कानुन ल्याएर सुरक्षित वातावरणको सिर्जना गर्न जोडदार माग गर्दछ,’ संघका महासचिव डा. बद्री रिजालद्धारा आइतबार जारी विज्ञप्तिमा भनिएको छ, ‘यस्तो परिस्थिति नबनेमा नेपाली चिकित्सक संघ थप कडा कदम चाल्न बाध्य हुने र त्यसको जिम्मेवार स्वयम् सरकार आफै हुने जानकारी समेत गराउँदछौं ।’
संघले भेरी अस्पतालको घटनालाई गम्भीरताका साथ लिँदै १३ गतेलाई कालोदिनका रुपमा लिएको, १४ गते कालो पट्टी बाँधेर काम गरेको तथा सोहि दिन संघका १६ शाखाका पदाधिकारीसँगै भर्चुअल माध्यमबाट आकस्मिक छलफल गरेको समेत जनाएको छ ।

वि.सं.२०७८ जेठ १६ आइतवार १५:४६ मा प्रकाशित






























