जेठ १७, काठमाडौं । जनता समाजवादी पार्टी (जसपा)का अध्यक्ष महन्थ ठाकुरले पार्टी विभाजनमा सहयोग गर्न प्रधानमन्त्री केपी शर्मा ओलीलाई आग्रह गरेका छन् । सोमबार बालुवाटारमा भएको छलफलमा ठाकुरले आधिकारिकता आफ्नो पक्षले पाउने गरि विभाजनमा सहयोग गर्न आग्रह गरेका हुन् ।
मधेश मुद्दा र सत्ता साझेदारीका विषयमा झण्डै ४ घण्टासम्म चलेको छलफलमा ठाकुरले पार्टी विभाजन आफ्नो पक्षमा पार्ने गरि सहयोग गर्न आग्रह गरेका थिए । स्रोतले बताएअनुसार छलफलमा पार्टी विभाजन नभई सरकारमा सहभागी हुन अप्ठ्यारो हुने कुरा ठाकुरले बताएका थिए ।
जसपाको केन्द्रीय कार्यकारिणी समितिमा महन्थ ठाकुर पक्ष कमजोर छ । पार्टी विभाजनको लागि ठाकुर समूहसँग ४० प्रतिशत पनि नभएको बताइन्छ ।
बैठकमा ठाकुरले बहुमत पुर्याउन वा विकल्प विहिन अवस्थामा अध्यादेश ल्याएर विभाजन गर्न सहज बनाइदिन ओलीलाई आग्रह गरेका थिए । बताइएअनुसार ओली र ठाकुरबीच अध्यादेश ल्याउने आधारका विषयमा पनि छलफल भएको थियो ।
कार्यकारिणी समितिमा बहुमत बनाएका उपेन्द्र यादवले सरकारमा सहभागी भए लगत्तै कारबाही गर्ने योजना अघि सारेका छन् । उनले कारबाही गरेमा पार्टी पनि नहुने र संसद पुनःस्थापना भए सांसद पनि नरहने अवस्था आउन सक्छ । ठाकुर समूह पार्टी र कार्यकर्ता विहिन हुने त्रासमा छ ।
सम्बन्धित समाचार
जसपा सरकारमा जाने निश्चित, ८ मन्त्री र २ राज्यमन्त्री पाउने सहमती
राजावादी र मधेशवादीसँग गठबन्धन गराउँदै ओली, विपक्षीलाई हुनसक्छ चुनौति
वि.सं.२०७८ जेठ १७ सोमवार १५:४६ मा प्रकाशित






























