जेठ १८, काठमाडौं । जनता समाजवादी पार्टी (जपसा)मा एक पक्षले अर्को पक्षलाई कारबाही गर्ने होडबाजी नै चलेको छ । अध्यक्ष उपेन्द्र यादव पक्षले अर्का अध्यक्ष महन्थ ठाकुरलगायत ४ नेतालाई पार्टीबाट निष्कासित गरेलगत्तै ठाकुरले पनि आफ्नो समूहको बैठक राख्दै यादवलाई निष्कासन गर्ने निर्णय गरेका छन् ।
ठाकुर समूहको बबरमहलमा बसेको बैठकले यादवलाई पार्टीबाट निष्कासनको निर्णय गरेको नेता लक्ष्मणलाल कर्णले जानकारी दिएका छन् । उनका अनुसार यादवमाथि गरिएको कारबाहीबारे समूहले निर्वाचन आयोगलाई पनि जानकारी गराएको छ ।
यादव पक्षको कार्यकारिणी समितिको बैठकले ठाकुरसहित वरिष्ठ नेता राजेन्द्र महतो, नेताहरु सर्वेन्द्रनाथ शुक्ल र लक्ष्मणलाल कर्णलाई पार्टीबाट निष्कासन गरेको थियो । तर, ठाकुरले यादवलाई मात्रै कारबाही गर्ने निर्णय गरेका छन् ।
दुवै समूहले स्पष्टीकरणको जवाफ नदिएपछि कारबाही गरेको बताएका छन् । यसअघि दुवै समूहले एकले अर्कोलाई स्पष्टीकरण सोधेका थिए ।
तर, बहुमतमा छन् यादव
जसपामा कार्यकारिणी समितिलाई सबैभन्दा शक्तिशाली इकाईको रुपमा लिइन्छ । जसमा उपेन्द्र पक्ष बहुमतमा छ ।
५१ सदस्यीय केन्द्रीय कार्यकारिणी समितिमा यादव पक्षमा ३१ जना सदस्य देखिएका छन् । जसमा ठाकुर समूहतिर जम्मा ३८ प्रतिशत अर्थात् २० जनामात्रै देखिएका छन् ।
पार्टी एकता गर्दा तत्कालिन समय पूर्वराजपा पक्षमा २६ र समाजवादी पक्षमा २५ सदस्य थिए । तर पछिल्लो विभाजनमा पूर्वराजपा समूहका महेन्द्रनारायण यादवसहित ६ जना यादव पक्षमा जोडिएका थिए ।
सम्बन्धित समाचार
महन्थ ठाकुर पक्षलाई कारबाही गर्ने उपेन्द्रको तयारी, बोलाए कार्यकारिणी समितिको बैठक
उपेन्द्र यादव पक्षद्धारा महन्थ ठाकुरसहित चार नेतालाई पार्टीबाट निष्काशन
वि.सं.२०७८ जेठ १८ मंगलवार १७:२२ मा प्रकाशित






























