१९ जेठ, काठमाडौं । पछिल्लो २४ घण्टामा ५३१६ जना नयाँ संक्रमित थपिएका छन् । पछिल्लो २४ घण्टामा गरिएको १३,८०५ पिसीआर र ३०७३ ऐन्टिजेन गरी १६८७८ नमुना परीक्षणमा ५३१६ जना संक्रमित थपिएका हुन् ।
आज भक्तपुरमा १८१, ललितपुरमा ३०६ र काठमाडौंमा ९६९ जना गरी उपत्यकामा जम्मा १४५६ जनामा संक्रमण पुष्टि भएको छ । आज थपिएका ५३१६ जनासँगै नेपालमा हालसम्म संक्रमित हुनेको संख्या ५ लाख ७१ हजार १११ पुगेको छ ।
पछिल्लो २४ घण्टामा देशैभरी ७२१९ जना कोरोना संक्रमणबाट मुक्त भएका छन् । आज निको भएका ७२१९ जनासँगैै नेपालमा कोरोना संक्रमणबाट मुक्त हुनेको संख्या ४ लाख ६१ हजार ५६३ पुगेको छ । हालसम्म मुक्त हुनेको यो दर ८०.८ प्रतिशत रहेको मन्त्रालयले जनाएको छ ।
त्यसैगरी पछिल्लो २४ घण्टामा १०१ जना कोरोना संक्रमितको मृत्यु भएको छ । मंगलबारको तुलनामा मृत्यु हुनेको यो संख्या ३३ जनाले बढी हो । आज मृत्यु भएका १०१ जनासँगै नेपालमा हालसम्म ज्यान गुमाउनेको संख्या ७५५५ पुगेको छ ।
त्यसैगरी हाल देशैभरी १ लाख ४ हजार ७८९ जना सक्रिय सक्रमित रहेका छन् । ती मध्ये देशैभरीका संस्थागत आइसोलेशनमा ६,८६२ जना र होम आइसोलेशनमा ९५ हजार १३१ जना रहेका छन् । आइसोलेशनमा बस्नेको संख्या पनि दिनहुँ घट्दै गइरहेको छ ।
मन्त्रालयका अनुसार हाल देशैभरीका विभिन्न अस्पतालका आइसीयुमा १४४६ जना र भेन्टिलेटरमा ३८५ जना उपचाररत छन् । साथै क्वारेन्टिनमा रहनेको संख्या ८३७ रहेको छ ।
नेपालमा हालसम्म पिसीआर प्रविधिबाट ३० लाख ८८ हजार ३७६ वटा नमुना परीक्षण गरिएको छ ।
वि.सं.२०७८ जेठ १९ बुधवार १७:२० मा प्रकाशित






























