२० जेठ । मधेसका चर्चित वामपन्थी नेता विष्णु बहादुर तामाङको निधन भएको छ । विष्णुलाल बाइबा र बी यल दाइका नामले समेत चिनिएका तामाङको बिहिबार निधन भएको हो ।
उनी तत्कालीन संयुक्त जनमोर्चा नेपालबाट २०४८ सालको प्रतिनिधि सभामा सिरहावाट निर्वाचित भएका थिए । तत्कालीन नेकपा (चौम) का पीबीयम रहेका नेता बाइबा हाल नेकपा (माओवादी केन्द)का केन्द्रिय सल्लाहकार परिसदका सदस्य थिए ।
नेपाली कम्युनिस्ट आन्दोलनका धरोहर बाइबाको निधनप्रति वामपन्थी नेताहरुले श्रद्धाञ्जली व्यक्त गरिरहेका छन् । उनीहरुले ग्रामीण वर्गसंघर्षका योद्धा, सादा जीवन उच्च बिचारका प्रेरकको रुपमा बाइवाको संस्मरण गरेका छन् ।
नेकपा (माओवादी केन्द्र)का नेता लिलामणि पोखरेलले बी.यलको निधनले नेपाली कम्युनिस्ट आन्दोलनको एक आदर्श नेताको अभावको अनुभूति भएको बताएका छन् ।
नेता पोखरेलले सामाजिक सञ्जालमा लेखेका छन् – “अलबिदा बिष्णुलाल वाइबा ! नेपाली कम्युनिस्ट आन्दोलनका धरोहर,सादा जीवन उच्च बिचारका प्रेरक,बी यल किसान आन्दोलन तथा सामन्त वर्ग बिरोधी आन्दोलनका अगुवा कम्युनिस्ट आन्दोलनका नेता का .जयगोविन्द साहका मित्र एबम उत्तराधिकारी, का. निर्मल लामाको बिचार राजनीतिका निकटतम सहयोगी, तत्कालीन नेकपा( चौम) का पीबीयम, नेकपा( माके) का केन्द्रिय सल्लाहकार परिशदका सदस्य , निर्मल लामा स्मृति प्रतिस्ठानका सल्लाहकार बी यल को निधनले नेपाली कम्युनिस्ट आन्दोलनको एक आदर्श नेताको अभाव को अनुभुति भयेको छ।सधै किसान मजदुरकाबीच रम्ने सुकिला नेता भन्दा हिलो मैलोमा जीवन यापन गर्ने किसान मजदुर र उत्पीडित जनसमुदाय उनका प्रिय थिए ।बिलासी जीवन जिउने तर आदर्श छाट्ने महारथीका कुरा सुन्न भन्दा उनलाई किसान ,मजदुर र सुकुम्बासी को बस्तीमा वर्गसङ्हर्सका गाथा सुनाउन मन पर्थ्यो।प्रिय कामरेड अब हामीसङ तिम्रो प्रेरणा रआदर्श को सम्झना रहनेछ। क्रान्तिकारी लाल अभिबादन!”
वि.सं.२०७८ जेठ २० बिहीवार २१:५७ मा प्रकाशित






























