२१ जेठ, काठमाडौँ । नेकपा (माओवादी केन्द्र)का अध्यक्ष तथा पूर्व प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले समाजमा रहेको जातीय भेदभाव अन्त्यका लागि निगरानी संयन्त्र बनाई जुट्न प्रचण्डको अपील गरेका छन् ।
जातीय भेदभाव तथा छुवाछुत उन्मूलन राष्ट्रिय दिवस–२०७८ को अवसरमा शुभकामना व्यक्त गर्दै अध्यक्ष प्रचण्डले स्थानीय तहसम्म निगरानी संयन्त्र बनाई जातीय भेदभाव तथा छुवाछुतको अन्त्य गर्ने कार्यमा जुट्न सबैमा अपिल गरेका हुन् ।
मानिसले मानिसमाथि गर्ने भेदभाव र छुवाछुत २१ औं शताब्दीको मानव समुदायका लागि लज्जाको बिषय भएको जनाउँदै उनले संविधान र कानूनमा भएको व्यवस्था मात्र कठोरतापूर्वक कार्यान्वयन गर्न सके पनि यसप्रकारका हिंसा न्यूनीकरण हुन सक्छ र उत्पीडित समुदायहरुले न्यायको अनुभूति गर्न सक्ने बताएका छन् ।
यस्तो छ प्रचण्डले दिएको शुभकामना :
जातीय भेदभाव तथा छुवाछुत उन्मूलन राष्ट्रिय दिवस–२०७८ को अवसरमा सम्पूर्ण उत्पीडित र उपेक्षित जनसमुदायमा हार्दिक शुभकामना व्यक्त गर्दछु । मानिसले मानिसमाथि गर्ने भेदभाव र छुवाछुत २१ औं शताब्दीको मानव समुदायका लागि लज्जाको बिषय हो । आजको विकसित दुनियाँमा पनि जातीय भेदभाव र दलित समुदायमाथिका विभिन्न प्रकारबाट हिंसा भइरहेका छन् । संविधान र कानूनमा भएको व्यवस्था मात्र कठोरतापूर्वक कार्यान्वयन गर्न सके पनि यसप्रकारका हिंसा न्यूनीकरण हुन सक्छ र उत्पीडित समुदायहरुले न्यायको अनुभूति गर्न सक्छन् ।
सामन्ती राज्य व्यवस्था विरुद्धको बलिदानीपूर्ण संघर्षबाट प्राप्त उपलब्धी अहिले गुम्दै जाने खतरा पैदा भएको छ । सामन्तवादका उपज सामाजिक कलङ्कका रुपमा रहेको जातीय भेदभाव तथा छुवाछुत हटाई सामुदायिक सहिष्णुता कायम राख्न अग्रगामी शक्तिहरुका बीच एकतावद्ध पहलकदमीको आवश्यकता छ । सामाजिक जागरण अभियान र कठोर कानूनी उपचारले मात्र यस्ता सामाजिक अपराधलाई निर्मूल गर्न सकिन्छ ।
जातीय छुवाछुत, विभेद र हिंसा सम्बन्धी संविधान र कानूनमा भएको व्यवस्था प्रभावकारी कार्यान्वयन गर्न राज्य संयन्त्रलाई निर्देशित गर्ने र जातीय हिंसा र छुवाछुत विरुद्ध जनचेतना लगायतका जागरणमूलक कार्यक्रम सञ्चालन गर्नुपर्दछ । स्थानीय तहसम्म निगरानी संयन्त्र बनाई जातीय भेदभाव तथा छुवाछुतको अन्त्य गर्ने कार्यमा जुट्न सबैमा अपिल गर्दै यस दिवसको अवसरमा सुस्वास्थ्य र उत्तरोत्तर प्रगतिको कामना गर्दछु ।
२१ जेष्ठ, २०७८
पुष्पकमल दाहाल ‘प्रचण्ड’
अध्यक्ष
वि.सं.२०७८ जेठ २१ शुक्रवार ०९:१७ मा प्रकाशित





























