जेठ २३, काठमाडौं । सरकार गठनदेखि नै निरन्तर विवादित बनेका ईश्वर पोखरल अन्ततः मन्त्रि पदबाट पनि विदा भएका छन् । विनाविभागीय स्थितिमा भूमिका विहिन बनेका पोखरेल पछिल्लो मन्त्रिपरिषद पुनर्गठनसँगै विदा भएका हुन् । उनलाई प्रधानमन्त्री केपी शर्मा ओलीले एक पछि अर्को गर्दै जिम्मेवारी कटौती गरि भूमिका विहिन बनाउँदै लगेका थिए ।
पोखरेल २०७४ फागुन १४ गतेदेखि नै निरन्तर उपप्रधानसहित विभिन्न मन्त्रालयको जिम्मेवारीमा रहेका थिए । उनी २ वर्ष ७ महिना रक्षा मन्त्रालयको जिम्मेवारीमा थिए भने गत ०७७ असोज २८ देखि विना विभागियको रुपमा रहेका थिए । असोज २८ देखि उनलाई प्रधानमन्त्री ओलीले प्रधानमन्त्री तथा मन्त्रिपरिषदको कार्यालय हेर्ने गरि जिम्मेवारीमा राखेका थिए ।
विना विभागिय अवस्थामा पनि उनी सीसीएमसीको भने संयोजक नै थिए । तर, असाध्यै विवादित बनेसँगै उनलाई ओलीले पछिल्लो समय सीसीएमसीबाट पनि हटाएका थिए ।
विवादको पर्याय थिए पोखरेल
पोखरेलको सत्ता यात्रा यतिदेखि ओम्नीसम्म आउँदा निकै विवादित बन्यो । तत्कालिन समय नेपाल ट्रष्टको जिम्मेवारीमा रहँदा उनको नेतृत्वमा भएका कामबाट सरकार निकै अलोकप्रिय बनेको थियो । नेपाल ट्रष्टको सम्पत्ती कौडीको भाउमा यती समूहलाई दिलाएपछि उनी निकै आलोचित बनेका थिए ।
निकै विवादित बनेका पोखरेलकै कारण सेना र सरकारबीचको सम्बन्धसमेत धुलिसात हुने अवस्थामा पुगेको थियो । सीसीएमसीको संयोजकको जिम्मेवारीमा रहँदा पोखरेलले व्यक्तिगत फाईदाका लागि सेनालाई समेत विवादमा झोसेका थिए । करोडौं अनियमितता भएको ओम्नी प्रकरणबाट बदनामित भएका उनले पुनः स्वास्थ्य सामग्री आपूर्ति र काठमाडौं–तराई दू्रतमार्गको ठेक्कामा आफुँ अनुकुल काम गर्न खोजेपछि सेनाले आपत्ति नै जनाएको थियो ।
पछिल्लो समय कोभिडको युनिफाइड अस्पतालमा आईसीयू र भेन्टिलेटर खरिद कार्यक्रममा पनि उनी जोडिएपछि विवाद देखिएको थियो । जसमा उनले आफ्नै छोराको कम्पनीलाई ठेक्का दिलाउन हात धोएर लागेका थिए । उनीविरुद्व छानविनको माग भएसँगै ओलीले उनलाई सीसीएमसीबाट निकालेका हुन् ।
मन्त्री पदमा रहँदा उनी सम्धी प्रकरणबाट पनि निकै विवादित बनेका थिए । पोखरेलले निकै विरोधका बीच शक्तिको दुरुपयोग गर्दै आफ्ना सम्धी उपेन्द्र कोइरालालाई राष्ट्रिय वाणिज्य बैंकको अध्यक्ष बनाएका छन् ।
अब के गर्लान् पोखरेलले ?
पोखरेल नेकपा गठन हुँदादेखि नै ओलीको सहयोगी जस्ता बन्दै आएका छन् । उनले ओलीलाई राजनीतिक रुपमा सहयोग गरेर निकै फाईदा पनि कमाएका देखिन्छन् । तर, पछिल्लो समय उनको बदनाममा ओली हिस्सेदार बन्न नखोजेको देखिएको छ । उनको मन्त्री पदबाट भएको बर्हिगमन पनि ओलीसँगको सम्बन्धमा आएको चिसोपनको संकेत हो ।
एकाएक विना विभागिय बन्नु र महत्वपूर्णं जिम्मेवारीबाट समेत हटाइनुले उनीप्रति ओलीको सहानुभूति भएको देखिन्न । तत्कालिन नेकपामा आएको विभाजनदेखि एमाले ब्यूँतिदासमेत उनले ओलीको फेरो छोडेका छैनन् । तर, सरकार र पार्टीभित्र पनि उनलाई भूमिका बिहिन बनाउँदै लगिएको छ ।
पार्टी ब्यूँतिएपछि साबिककै अवस्थामा महासचिवको पद पाए पनि पोखरेलले भूमिका भने पाएका छैनन् । महासचिव बने पनि माइन्यूटसम्म लेख्ने अधिकार नपाएका पोखरेलको सरकारबाट हटेसँगै भविष्य थप संकटतर्फ गएको देखिन्छ ।
पार्टीभित्र भूमिका पाउने आशमा छन् पोखरेल
मन्त्रि पदबाट हटेसँगै पोखरेलले आइतबार निकै लामो फेसबुक स्टाटस लेख्दै आफुँ पुनः पार्टी महासचिवको भूमिकामा फर्किन चाहेको बताएका छन् । उनले पार्टी अध्यक्ष ओलीसँग भूमिका पनि मागेको कुरा स्टाटसमार्फत खुलाएका छन् । तर, उनको भनाईअनुसार उनले ओलीको आशय भने बुझेका छैनन् ।
सामाजिक सञ्जालमा उनले लेखेका छन्, ‘ २०७७ फागुन २३ गतेको सर्वोच्च अदालतको फैसलापछि एमाले( माओवादी पार्टीहरूको पूर्व स्थिति कायम रहन पुगेका कारण म पुनस् एमालेको महासचिव रहन पुगेको छु । यो अवस्थामा मैले बुझेको छु ( म पार्टीको महासचिव भएर पुनस् भूमिका खेल्नुपर्ने आवश्यकता आइपरेको छ । पार्टीका आदरणीय अध्यक्ष तथा सम्माननीय प्रधानमन्त्री केपी शर्मा ओलीसित यस सम्वन्धमा कुराहरू भएका छन् । उहाँले मलाई परिस्थितिको गम्भीरता बारे बताउँदै आउनुभएको पनि छ र मैले उहाँको अन्तरआशयलाई राम्ररी बुझ्ने प्रयत्न पनि गर्दै आएको छु। ’
तर, सर्वोच्चको आदेशसँगै ब्यूँतिएको पार्टीभित्र आफुँ विरोधीलाई भूमिका विहिन बनाएका ओलीले पोखरेललाई भूमिका दिन्छन् भन्ने सम्भावना कमजोर देखिन्छ । जसको छनक तत्कालिन नेकपा गठन हुँदा महासचिव पद पाइन भनेर पोखरेलले गरेको गुनासोबाट पनि देखिन्छ ।
वि.सं.२०७८ जेठ २३ आइतवार १३:२१ मा प्रकाशित






























