२७ जेठ, काठमाडौं । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले कोरोना संक्रमितहरुको निःशुल्क उपचारमा अस्पतालहरुले निःशुल्क गर्नुपर्ने सेवाहरुको सम्बन्धमा सूचना जारी गरेको छ ।
सरकारले कोरोना संक्रमितहरुलाई निःशुल्क उपचार गर्न भनि सबै सरकारी अस्पताल र केही निजी अस्पतालहरुसँग भएको सेवा सम्झौता अनुसार अस्पतालले विरामीका आफन्तले चाहेको अवस्थामा बाहेक निःशुल्क सेवा प्रवाह गर्नुपर्ने छ । यदि विरामीका आफन्तले शुल्क तिरेर सेवा लिन चाहेमा लिखित रुपमा मन्जुरीनामा लिएर मात्रै शुल्क लिन पाइने मन्त्रालयले जनाएको छ ।
मन्त्रालय र अस्पतालहरुबीच भएको सम्झौता अनुसार सामान्य रगत परीक्षण(जस्तै सिरम, यूरिया, क्रियाटिनिन, सुगर, सिआरपी, सिबीसी, होमो ग्लोबिन, प्लेटलेट, इएसआर, एएलटी, आदि, छातिको एक्सरे, उपचारमा प्रयोग हुने स्लाइन तथा सामान्य औषधिहरु, विरामीको शैथ्या शुल्क, खाजा, खानासहित चारछाक, चिकित्सक तथा नर्सको राउण्ड सेवा, र अक्सिजन सेवा अस्पतालले निःशुल्क उपलब्ध गराउनु पर्ने मन्त्रालयद्धारा जारी सूचनामा उल्लेख छ ।
त्यसैगरी निःशुल्क उपचारमा समावेश नहुने आइसीयु बाहेकका विरामीमा पिसीआर, रेम्डेसिविर, प्लाज्मा थेरापी, सिटी स्क्यान, तथा हायर ऐन्टिवायोटिक्स रहेको पनि मन्त्रालयले जनाएको छ ।

वि.सं.२०७८ जेठ २७ बिहीवार १७:२६ मा प्रकाशित






























