२ असार, काठमाडौं । नेपाली जनता कोरोना महामारी रोकथामका लागि लगाइएको निषेधाज्ञका कारण आफ्नो व्यापार व्यवसाय बन्द गरेर डेढ महिना बढीदेखि घरभित्रै छन् । तर सरकारलाई भने जनताका समस्या भन्दा जनताबाट कर उठाउन हतार छ ।
सरकारले असार २५ गतेभित्र कर तिर्न निर्देशन दिएको छ । बुधबार सूचना सार्वजनिक गर्दै आन्तरिक राजस्व विभागले असार २५ भित्र सबै प्रकारको कर दाखिला गर्न निर्देशन दिएको हो ।
विभागले मूल्य अभिवृद्धि कर, आयकर, अन्तशुल्क, शिक्षा सेवा शुल्क, टेलिफोन स्वामित्व शुल्क र दूरसञ्चार सेवा दस्तुर बुझाउन निर्देशन दिएको हो ।
विश्वव्यापी महामारीको रुपमा फैलिएको कोरोना भाइरस (कोभिड–१९) का कारण समयमा कर बुझाउन नसकेका करदाताका लागि समय थप गरिएको सूचनामा उल्लेख गरिएको छ । कोरोना महामारी र संक्रमणलाई ख्याल गर्दै आर्थिक ऐन, २०७७ को दफा १९ अनुसार सरकारले कर दाखिला गर्ने म्याद थप भएको विभागले जनाएको हो ।
जारी सूचनामा २०७७ साल चैत र वैशाख महिनाको मासिक तथा चैत र वैशाख महिनाको द्धिमासिक अवधिको मूल्य अभिवृद्धि कर विवरण र कर दाखिला असार २५ गतेसम्म गरिसक्न भनिएको छ ।
यसैगरी २०७७ चैत र २०७८ साल वैशाख महिनाको बुझाउनुपर्ने अग्रिम करकट्टी भएको रकम र त्यसको विवरण, २०७७ चैत र २०७८ वैशाखमा बुझाउनुपर्ने अन्तःशुल्क विवरण तथा त्यस अनुसारको अन्तःशूल्क दाखिला र २०७७ चैत र २०७८ वैशाख महिनाको बुझाउनुपर्ने शिक्षा सेवा शुल्क, टेलिफोन स्वामित्व शूल्क र दूरसंचार सेवा दस्तुर दाखिला म्याद पनि असार २५ असार गतेसम्मलाइ तोकिएको छ ।
सर्वोच्च अदालतले कर तिर्ने समय तोक्न आदेश दिए लगत्तै सरकारले कर चुक्ता गर्नका निम्ति असार २५ गतेसम्मको समय दिएको हो ।
वि.सं.२०७८ असार २ बुधवार १९:५० मा प्रकाशित