२८ असार, काठमाडौैं । नेपाल वायुसेवा निगमलाई निजीकरण गर्न लागिएको भन्दै आन्दोलनरत कर्मचारीका ट्रेड युनियनहरुलाई अन्य विभिन्न संस्था तथा निकायका कर्मचारी संघ संगठनहरुले ऐक्यबद्धता जनाएका छन् ।
आन्दोलनरत ट्रेड युनियनहरुलाई अन्य विभिन्न संघ, संस्था तथा निकायका कर्मचारी संघ, संगठनले ऐक्यबद्धता जनाउँदै माग पुरा नहुञ्जेलसम्म आन्दोलन नरोक्न आग्रह गरेका हुन् ।
नेपाल सार्वजनिक सेवा कर्मचारी संघका अध्यक्ष जनार्दन शर्माले नेपाल वायु सेवा निगम राष्ट्रिय गौरवको संस्था भएको उल्लेख गर्दै राज्यले यसलाई नाफा, घाटासँग हेर्नु नहुने धारणा राखेका छन् ।
वायु सेवा निगमका कर्मचारीहरुको आन्दोलनमा आफुहरुको ऐक्यवद्धता रहेको उनले बताए । त्यस्तै आन्दोलनमा ऐक्यवद्धता जनाउँदै नेपाल आयल निगम कर्मचारी संघका अध्यक्ष मधुमाश पन्तले भ्रष्ट महाप्रवन्धक नियुक्त गर्ने पार्टी संयन्त्रका विरुद्ध धावा बोल्नुपर्ने आवश्यकता औंल्याए ।
उनले अध्याँरो कोठामा बसेर दिइने नियुक्ति लिएका मानिसहरुले देश र जनताप्रति जिम्मेवार नहुने पनि बताए । निगमलाई निजीकरणमा लाने निर्णय फिर्ता नहुञ्जेलसम्म आन्दोलन नरोकिने निगमका आन्दोलनरत कर्मचारीहरुले बताएका छन् । निगमलाई निजीकरण गर्नका लागि कम्पनीको प्रबन्धपत्र र नियमावलीसमेत बनाइसकेको र निगमलाई बेच्न लागिएको भन्दै कर्मचारीहरु निरन्तर आन्दोलित छन् ।
निजीकरण गर्ने निर्णय फिर्ता लिनुपर्ने र निगमको सञ्चालक समिति सदस्यहरु र महाप्रबन्धकको राजीनामा माग गर्दै निगममा क्रियाशील ट्रेड युनियनहरु आन्दोलित भएका हुन् ।
तर, पर्यटन मन्त्रालय भन्छ– निगमलाई निजीकरण गर्न खोजेका छैनौं संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयले राष्ट्रिय ध्वजाबाहक नेपाल वायुसेवा निगम (नेपाल एयरलाइन्स) लाई निजीकरण गर्ने कुनै योजना नरहेको स्पष्ट पारेको छ ।
आइतबार एक प्रेस विज्ञप्ति जारी गर्दै मन्त्रालयले निगमका बारेमा अनावश्यक र भ्रमपूर्ण हल्ला फैलाउने काम भएको भन्दै स्पष्ट पारेको हो ।
‘नेपाल वायुसेवा निगमको रणनीतिक सुधारका लागि भइरहेका कार्यहरुको सम्बन्धमा विभिन्न महानुभावहरूबाट भ्रमपूर्ण सूचना सम्प्रेषण भइरहेको सम्बन्धमा मन्त्रालयको गम्भिर ध्यानाकर्षण भएको छ’ निगमद्वारा जारी विज्ञप्तिमा भनिएको छ, ‘यस सम्बन्धमा निगमलाई निजीकरण गर्ने वा निजी कम्पनीमा रुपान्तरण गर्ने मन्त्रालयको हालसम्म कुनै योजना एवं कार्यक्रम नभएको तथा निजीकरणको प्रकृयाका सम्बन्धमा हालसम्म कुनै छलफल समेत नभएको व्यहोरा सम्बन्धित सबैलाई जानकारी गराइन्छ ।’
निगमको रणनीतिक सुधारका लागि भइरहेका कार्यका सम्बन्धमा विभिन्न व्यक्तिबाट भइरहेको गलत सूचनाप्रति पनि मन्त्रालयले चासो जनाउँदै सत्यतथ्यको पक्षमा उभिन अपिल गरेको छ । गत असार १० गते नेपाल वायुसेवा निगम सञ्चालक समितिको बोर्डले निगममा रणनीतिक साझेदार भित्र्याउने सम्बन्धमा बोर्डबाट निर्णय गरेर मन्त्रालयमा प्रस्ताव पठाएसँगै सो विषयले निकै चर्चा पाएको छ । यस विषयप्रति निगमका कर्मचारी आन्दोलित छन् भने सर्वसाधारण तथा नागरिक समाजले विरोध जनाईरहेका छन् ।
वि.सं.२०७८ असार २८ सोमवार २१:०७ मा प्रकाशित






























