२९ असार, काठमाडौं । शेरबहादुर देउवा नेतृत्वको सरकारको अर्थमन्त्रीमा जनार्दन शर्मा ‘प्रभाकर’ नियुक्त भएका छन् । नेकपा (माओवादी केन्द्र)को तर्फबाट शर्माले अर्थमन्त्रीको जिम्मेवारी पाएका हुन् ।
कांग्रेस र माओवादी केन्द्रबीच मन्त्रालय बाँडफाँड हुँदा अर्थको जिम्मा माओवादीले पाएको हो । अर्थसँगै माओवादीले ऊर्जा, जलस्रोत तथा सिंचाई मन्त्रालयको पनि जिम्मेवारी पाएको छ । माओवादीको कोटामा पम्फा भुसालले उर्जाको जिम्मेवारी पाएकी छिन् ।
शर्मा र भुसालले मंगलबार राति राष्ट्रपतिभवन शीतलनिवासमा आयोजित समारोहमा पद तथा गोपनीयताको शपथ लिएका छन् ।
उर्जाको नेतृत्वबाट चर्चामा आएका थिए शर्मा
अर्थको जिम्मेवारी पाएका शर्मा अन्तरिम विधायकसहित चार पटक सांसद र तीन पटक मन्त्री भइसकेका छन् । शर्मा पुष्पकमल दाहाल ‘प्रचण्ड’ नेतृत्वको पहिलो सरकारमा शान्ति तथा पुनर्निर्माण मन्त्री भएका थिए ।
दोस्रो कार्यकालमा शर्मा प्रचण्ड नेतृत्वको सरकारमा ऊर्जा र देउवा नेतृत्वको सरकारमा गृहमन्त्री भएका थिए । चौंथो पटक शर्मा देउवा नेतृत्वको सरकारमा अर्थ मन्त्रीका रुपमा प्रवेश गरेका हुन् ।
तत्कालिन समय ऊर्जा मन्त्री हुँदा लोडसेडिङ्ग हटाएसँगै उनी निकै चर्चामा आएका थिए । उनी नेतृत्वमा छँदा मुलुक लोडसेडिङ्ग मुक्त भएको थियो ।
तर, गृहमन्त्री हुँदा भने तुलनात्मक रुपमा राम्रो काम गर्न नसकेको भनि आलोचित भएका थिए । उर्जाको कामका कारण अझै पनि उनीबाट आशा गर्ने अवस्था रहेको धेरैको टिप्पणी छ ।
वि.सं.२०७८ असार २९ मंगलवार २१:०९ मा प्रकाशित




























