२९ असार, काठमाडौं । रेष्टुरेण्ट एण्ड बार एसोसिएसन नेपालले रेष्टुरेण्ट तथा बार व्यवसायलाई पुनरुउत्थानक लागि सहुलियतपूर्ण कर्जा उपलब्ध गराउन माग गरेको छ ।
सोमबार पत्रकार सम्मेलन गर्दै एसोसिएसनले कोभिड–१९ का कारण पर्यटन क्षेत्रमा धेरै असर परेको भन्दै व्यवसायलाई पुनरुउत्थान गर्न कम्तीमा एक पटकको लागि बिनाधितो ५० लाख रुपैयाँसम्मको सहुलियतपूर्ण कर्जा उपलब्ध गराउन माग गरेको हो ।
त्यस्तै एसोसिएसनले बैंकहरुबाट लिइएको ऋणको ब्याज र किस्ता व्यवसाय पूर्णरुपमा सञ्चालन नभएसम्म कम्तीमा तीन वर्षका लागि थप गर्न तथा निजी आवास निर्माणका लागि लिएको ऋणको ब्याजदरलाई सहुलियतदर र तिर्ने पुनर्तालिकीकरणका लागि बैंकहरुसँग समन्वय गरिदिन पनि माग गरेको छ ।
एसोसिएसनले रेष्टुरेण्टमा पस्कने खानाको कच्चा पदार्थ पूर्णरुपमा कृषि उपज हुने भएको र अधिकांश स्वदेशी उत्पादन नै हुने भन्दै १३ प्रतिशत मूल्य अभिवृद्धि कर खारेज गर्न पनि माग गरेको छ । सरकारले कर्मचारीलाई १० दिनको आन्तरिक भ्रमणमा जान दिई अतिरिक्त तलबभत्ता उपलब्ध गराउने हुँदा वित्तीय संस्थामा कार्यरत कर्मचारीहरुलाई पनि आन्तरिक भ्रमणमा पठाउने व्यवस्था गर्नसमेत एसोसिएसनले माग गरेको छ ।
वि.सं.२०७८ असार २९ मंगलवार २१:१५ मा प्रकाशित




























