५ साउन, काठमाडौँ । ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री पम्फा भुसालले धनुषाको सवेला नगरपालिकामा कमला नदीले कटान गरेको भन्दै तत्काल समस्या समाधान गर्न निर्देशन दिएकी छन् ।
नदीको कटानका कारण नेपालको सबैभन्दा पुरानो चन्द्रनहरसमेत समस्यामा परेको छ । सवेला १३ को तीलकपुरमामा कमला नदीले कटान गरी जोखिम बढाएकाले कटान रोक्ने पहल गर्न मन्त्री भुसालले सिँचाइ विभागलाई निर्देशन दिएकी हुन् ।
मन्त्री भुसालले मंगलबार सिँचाइ विभागका महानिर्देशक मधुकर राजभण्डारीमार्फत सो क्षेत्रमा भइरहेको कटान रोकेर बस्ती सुरक्षित तुल्याउन निर्देशन दिएको उनको सचिवालयले जनाएको छ । सो क्षेत्रमा कमला नदीने ६००÷७०० मिटर कटान गरिसकेको नेकपा(माओवादी केन्द्र)का सांसद एवं पूर्वमनत्री मातृकाप्रसाद यादवले जानकारी दिए ।
कमला नदी व्यवस्थापन आयोजनाका प्रमुखलाई सिँचाइ विभागको आकस्मिक कोषको रु ५० लाख खर्च गर्ने गरी कटान नियन्त्रण गर्न मन्त्री भुसालले निर्देशन दिएको महानिर्देशक राजभण्डारीले जानकारी दिए ।
मन्त्रीको निर्देशनपछि सो क्षेत्रमा नेपाली सेना, सशस्त्र प्रहरी र नेपाल प्रहरीको टोली नदी नियन्त्रणका लागि खटिएका छन् । नदीले कटान गरिरहेको भन्दै सांसद यादव र पूर्वसांसद शिवराम यादवले मन्त्री भुसालको ध्यानाकर्षण गराएका थिए । मन्त्रीको ध्यानाकर्षणलगत्तै सिँचाइ विभागले आवश्यक काम शुरु गरिसकेको जनाएको छ । (रासस)
वि.सं.२०७८ साउन ५ मंगलवार २१:२३ मा प्रकाशित






























