साउन १०, काठमाडौं । प्रतिनिधि सभाको अन्तराष्ट्रिय सम्बन्ध तथा श्रम समितिमा नेकपा (एमाले)का सांसदहरुबीच भनाभन परेपछि बैठक नै स्थगित भएको छ । आइतबार बसेको बैठकमा एमालेका वरिष्ठ नेता तथा सांसद माधवकुमार नेपाल र पार्टी अध्यक्ष केपी शर्मा ओली पक्षका सांसद नारदमुनि रानाबीच भनाभन भएको थियो ।
ओली पक्षका सांसद रानाले नेता माधव नेपालप्रति कटाक्ष गर्दै एमालेको नेता नभएको टिप्पणी गरेका थिए । उनले नेता नेपाललाई ‘ओलीले विश्वासको मत लिने बेला कहाँ थिए ?’ भनेर व्यंग्य गरेका थिए ।
नेता माधव नेपालले प्रतिनिधि सभा पुनःस्थापना भएकोप्रति खुसी व्यक्त गरेको सन्दर्भमा रानाले संसद विघटनको कारण माधव नेपाल भएको बताएका थिए । उनले राजनीतिक कारणले संसद विघटन गरिएको तर्क गर्दै जसको दोषी माधव नेपाल नै भएको बताएका थिए ।
माधव नेपालको विरुद्व निरन्तर आलोचना गरेपछि सांसद दीपकप्रकाश भट्टले प्रतिगमनका मतियार भन्दे रानाको विरोध गरेका थिए । जसलगत्तै नेता नेपालले रानालाई प्रतिगमनका मतियार भन्दै बाहिर जान भनेका थिए ।
ओली पक्षका सांसद राना र नेपालबीच त्यसपश्चात निरन्तर दोहोरी चलिरहेको थियो । नेता नेपाललाई कांग्रेस र एमालेकै अन्य सांसदले पनि दोहोरीमा सघाएका थिए । निरन्तर भनाभन परेपछि बैठक विषयमा नै प्रवेश नगरी स्थगित भएको छ ।
वि.सं.२०७८ साउन १० आइतवार १५:३१ मा प्रकाशित






























