साउन १८, काठमाडौं । सरकारले डा. जागेश्वर गौतमलाई कोभिड युनिफाइड केन्द्रीय अस्पताल (वीर)को प्रमुख प्रशासकीय अधिकृतबाट हटाएको छ । सोमबार स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको राज्यमन्त्रीस्तरीय निर्णयअनुसार उनलाई हटाइएको हो ।
उनलाई तत्कालको लागि थापाथलीस्थित प्रसुती तथा स्त्री रोग अस्पतालमा सरुवा गरिएको छ । गौतमको ठाउँमा सरकारले ट्रमा सेन्टरका डा. रुद्र मरासिनीलाई पठाएको छ ।
गौतम वीरको प्रमुख भएर आएसँगै विवादमा तानिएका थिए । उनिमाथि स्वास्थ्य उपकरण खरिदमा सेटिङ गरेको, कोभिड अस्पतालहरुको व्यवस्थापनमा आर्थिक अनियमितता गर्न खोजेको जस्ता आरोप लागेका थिए ।
गौतममाथि छानविन गर्न र हटाउन माग गर्दै वीरका चिकित्सक तथा कर्मचारी केहि दिनदेखि आन्दोलनमा समेत थिए ।
स्वास्थ्य मन्त्रालयको प्रवक्तामा रहेका गौतमलाई सरकारले कोभिड युनिफाइड अस्पतालको निर्माण गरि गत जेठ १० मा प्रमुख प्रशासकीय अधिकृतको रुपमा नियुक्त गरेको थियो ।
वि.सं.२०७८ साउन १८ सोमवार १६:३७ मा प्रकाशित




























