साउन २०, काठमाडौं । नेकपा (माओवादी केन्द्र)भित्र मन्त्री छनोटको विषय निकै किचलोपूर्णं बन्दै गएको छ । गठबन्धन सरकारमा माओवादी केन्द्रले पाउने मन्त्रीको संख्याभन्दा आकांक्षीहरुको संख्या अत्याधिक हुँदा समस्या बनेको हो ।
केहि दिन अघि एक सार्वजनिक कार्यक्रममा पनि केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले सबै सांसद मन्त्रिका लागि दौडधुपमा लागेको भन्दै असन्तुष्टी व्यक्त गरेका थिए । उनले ४९ जनालाई नै कसरी मन्त्री बनाउने ? भन्दै प्रश्न गरेका थिए ।
केन्द्रमा ४९ जनाले गरेको दाबीभन्दा केहि नेताहरुले मन्त्री बन्न गरेको दौडधुपले बढि समस्या बनाएको कुरा बाहिरिएको छ । पार्टी प्रवक्तासमेत रहेका नारायणकाजी श्रेष्ठ र पूर्वसभामुख कृष्णबहादुर महराले देखाएको चाँसोले समस्या बनाएको विषय सार्वजनिक भएको छ ।
नेता नारायणकाजी श्रेष्ठले मन्त्री पद नपाए पार्टीबाट विद्रोह गर्नेसमेत चेतावनी दिएको विषय केहि सञ्चारमाध्यमले सार्वजनिक गरेका थिए ।
तर, दुवैलाई मन्त्री बनाउन हुँदैन् : नेता महत
श्रेष्ठ र महराले मन्त्रीका लागि दौडधुप तिव्र बनाइरहेका बेला माओवादी सांसदहरुको ठूलो संख्या भने दुवैलाई मन्त्री बनाउन नहुने लाईनमा देखिएका छन् । केहि सांसदले खुलेरै श्रेष्ठ र महरालाई मन्त्री बनाउनु गलत हुने बताएका छन् ।
जुम्लाबाट प्रत्यक्ष निर्वाचित सांसद गजेन्द्र महतले मन्त्री बन्न पाउने अधिकार श्रेष्ठ र महराको मात्रै पेवा नभएको भन्दै आक्रोश पोखेका छन् । एक टेलिभिजनमार्फत उनले दुवैलाई मन्त्री बनाउन पार्टीलाई घाटा हुने बताए ।
‘उहाँहरु दुवै जनालाई अहिले नपठाउन पनि त सकिन्छ नि, के यो मन्त्री पद वा उपप्रधानमन्त्री पद उहाँहरुको पेवा हो र ? दाईजो हो र ? के अर्को व्यक्ति पठाउन नहुने ?’, महतले भनेका छन्, ‘महरा पनि सभामुख भैसकेका हुन्, उहाँ प्रधानमन्त्रीको दाबेदार हो, नारायणकाजी श्रेष्ठ पनि उपप्रधानमन्त्री भैसक्नुभएको छ, उहाँ पनि प्रधानमन्त्रीको दाबेदार हो, फेरि चाहियो किन चाहियो ?’
उनले ओलीलाई गाली गर्ने नेताहरुले नै ओली प्रवृत्ति देखाएको भन्दै आलोचना गरे । उनले भने, ‘समस्या त यही हो नि, हामी केपी ओलीलाई गाली गर्छौं, तर यो टेण्डेन्सी त हामीमा पनि छ नि ।’
वि.सं.२०७८ साउन २० बुधवार १४:०५ मा प्रकाशित






























