२४ साउन, काठमाडौँ । कसैले दैवको खेल पनि हो भन्छन् कसैले हुने हुनामी टारेर टर्दैन पनि भन्छन् । कहिलेकाहिँ प्राकृतिक नियतीसँग पनि कृत्रिम अभ्यासहरु सहकार्य भैरहेका हुन्छन् । त्यस्तो स्थितिमा सफलता भेटिएको पनि हुन्छ । परीस्थितिबस बाल्यकालमै दिल्लीबाट हराएका एक नेपाली काभे्रको बनेपामा भेटिएर परीवारसँग पुनर्मिलन गर्न पाउने भएको एउटा घटना अहिले जब्बर फिल्मी कथा बनेको छ ।
यस्तो छ कथा :
स्याङ्जा जिल्ला साबिक जगत भञ्ज्याङ्ग २ पितलेकको पाण्डेथोक (कोलपाटा) हाल वालिङ्ग न. पा. ५ स्याङ्जा जिल्ला निवासी एकादेव लामिछानेको नातिमुक्ति प्रसाद लामिछाने र आमा हिमादेवि लामिछानेको जेठो छोरा शोभाकान्त लामिछाने बिगत ३५ बर्ष अघि भारतको दिल्ली अजमेरीगेट कार पार्किङ देखि हराएका थिए ।
बाबु मुक्तिप्रसाद लामिछाने रोजगारीको शिलशिलामा भारतको नयाँ दिल्लीस्थित अजमेरी गेटमा कार्यरत हुन्छन् । उपचारका लागि भारत लगिएका उनको उपचार प्रक्रिया पछि छोरालाई सजिलो काम लगाइदिने कुरा चलिरहेको हुन्छ । उनका एक चिनेजानेका ब्यक्तिमार्फत कसैकोमा काम गर्न गएको छोरा महिनौ बित्दा पनि सम्पर्कमा आउँदैनन् । छोराको खोजी गर्न मुक्तिको परीवार निकै भौतारीन्छ । कतै फेला नपरेपछि परीवार निराश त हुन्छ नै तर पनि सास छउन्जेल आश भनेजस्तो कहिले छोरा टुप्लुक्क आइपुग्ला भन्ने मनोकामना पुरै हराइसकेको हुँदैन । आमाले साँझ बिहान उसको नाउमा बत्ति बाल्ने काम जारी राखेकै हुन्छिन् ।
भीम उपाध्यायको वाल र पुर्णचन्द्रको ठम्याइ
नेपालमा सामाजिक संजाल अधिक प्रयोग गर्ने पुर्व सचिव भिम उपाध्यायले एउटा वार्ता र सुचना फेसबुकमा टयाग गरेपछि स्याङ्जा जिल्लाको सोहि ठाउमा हुर्किबढि नवलपरासि हुप्सेकोट हुदै बिस बर्ष यता काठमाण्डौमा यातायात व्यवसाय गर्ने पुर्णचन्द्र लामिछानेको त्यसमा आँखा पुग्छ । संजालमार्फत धेरैको उपकार गरेका र राष्ट्रिय मुद्धामा बहश चलाउँदै आएका उपाध्यायको फेसबुकका आधारमा लामिछानेले शोभाकान्त उर्फ शुसान्तबारे ठम्याउन प्रयास गर्छन । शुसान्तसँग फोनमा भएको संपर्क, उनले दोहोयाउने गरेको कोलपाटा र परीवारका सदस्यको नामका आधारमा आफनै भाइ शोभाकान्त हो भनेर ठम्याउन उनलाई गाहो परेन । अनि उनि भाइलाई भौतिक रुपमै ठम्याउन नातेदारहरु ओम प्रकाश अधिकारी, लोकनाथ लामिछाने, इश्वरी प्रसाद लामिछाने सहित बनेपाको चारदोबाटो स्थित उनले काम गरेको फास्टफुडमा पुग्छन । त्यसपछिको प्रष्टतासँगै उनले पितलेकमा खबर गरी घरका सदस्यलाइ आमन्त्रण गरी काठमाण्डौ बोलाउछन् ।
पत्रकारीताको कमाल
दिल्लीबाट हराएर लामो समयसम्म बनेपामै गुमनाम भएका शुसान्तको पहिचान गराउनुमा मेडियाको प्रमुख भूमिका रहेको छ । लामो समयदेखि एक्लो जीवन र मजदुरीमा रहेका शुसान्तले नेपालमै आएको पचिसौ बर्षसम्म पनि घरपत्ता लगाउन सकेका थिएनन् । उनलाई बाउआमा, दाजुभाइ र गाउ भेटने औडाहा नभएको होइन । गाउँको नाम कोल्पाटा र घरका केहि नाम स्मरण गरेपनि कोल्पाटाका आधारमा उनले घरको खासै मेसो पाउन सकेनन । यसरी छटपटिमा रहेका उनका बारे काभ्रेका पत्रकार रामकृष्ण चापागाइले एकदिन पत्रकार रोहित श्रेष्ठ (बुद्धकुमार श्रेष्ठ)लाइ पहिचान मिशन र उद्धारका लागि सुझाव दिन्छन् । अनि पत्रकार बुद्ध र सुमन चापागाइले ‘हाम्रो पनौति’ युटयुव च्यानेलका लागी एउटा लामो अन्तरवार्ता सहित उनको बेलिबिस्तार प्रयास गर्छन । यसमा हजारौ भ्युअर्स बढिरहेको हुन्छ भने उनैले प्रकाशन गर्ने तपाई हाम्रो साप्ताहिक पत्रिकामा मुख्य समाचार समेत बनाउँछन । यसबाहेक उनै बुद्धले सबै सामाग्री पठाएर भीम उपाध्यायसँग सम्पर्क गरेका हुन्छन् ।
पनौती नगरपालिका–४ घर भै तपाईं हाम्रो साप्ताहिक चलाउने पत्रकार रोहित श्रेष्ठ (बुद्धकुमार श्रेष्ठ)ले थोरैमात्र अल्छि गरेको भए वा मिशनको अठोट नराखेको भए शोभाकान्त शुसान्तकै रुपमा अझै गुमनाम रहनुपर्ने निश्चितै थियो । पत्रकारीतालाई सेवासंगै जोडने ध्येय राखेका बुद्धकुमारले संसारन्युजसँग भने ‘यो मेरो काम नितान्त मानवीय सेवासँग जोडिएको थियो । यद्यपी मैले भित्रै देखि मिशन पुरा गर्ने अठोट गरेको थिएँ ।’
पत्रकार बुद्धका अनुसार बनेपाको वडा, पालीका र प्रहरीको रोहवरमा निज सुशान्तलाई परिवारलाई हस्तान्तरण गरिने भएको छ । काठमाडौंमा रहेका आफन्तसहित बनेपा पुगेर भाइलाई भेटेर फर्किएका पुर्णचन्द्र लामिछानेका अनुसार स्याङ्जा वालिङबाट आमा र भाइहरु आएपछि प्रक्रिया पूरा गरी घर लैजाने तयारी भएको छ ।
लामो समय हराएर करिब करिब भेटिने आशा नगरेका पित्लेकवासी आफ्नो एक सदस्य भेट्ने भएपछि खुशी व्यक्त गरिरहेका छन् ।
वि.सं.२०७८ साउन २४ आइतवार १९:३८ मा प्रकाशित






























