back
CTIZAN AD

एमाले विभाजनको अन्तर्य

वि.सं.२०७८ भदौ ६ आइतवार

588 

shares

एमाले विभाजनको तरंग

नेपालका राजनीतिक दलहरुमध्ये तुलना गरेर हेर्ने हो भने एमालेको संगठन सबैका लागि लोभलाग्दो थियो । तर, अहिले फेरि एमाले विभाजित बनेको छ र विभाजनको असर वा प्रभाव कति पर्छ त्यो हेर्न बाँकी नै छ । माधव नेपालको नेतृत्वमा नेकपा (एकिकृत समाजवादी) दल दर्ताको लागि निर्वाचन आयोगमा निवेदन दिइएको छ । त्यो नाम राख्न पाइने वा नपाइने विवाद उत्पन्न हुने नै छ तर, मुख्य कुरो दल विभाजित भई नयाँ बन्ने प्रक्रियामा गएको छ । वास्तवमा यो विभाजन समग्र एमालेका लागि दुःखद र पेचिलो नै छ । नयाँ दल दर्ता गर्नका लागि माधव नेपाललाई तानेको फोटो भाइरल बनेको छ र त्यो दृश्यले माधव नेपालको अपमान गरेको छ । माधव नेपाललाई साथ दिएका दोश्रो पुस्ताका लगभग सबै नेताले विभाजनको घटनालाई साथ दिएनन् । यो प्रारम्भिक घटनाले केपी ओली र एमालेलाई राहत दिएको छ । क्षति न्यूनीकरणमा केपी ओली धेरै हदसम्म सफल भएका देखिन्छन् ।

स्वभाविक रुपमा एमालेलाई विभाजनसम्म पु¥याउने मुख्य कारक भनेकै नेपाली राजनीतिमा विकसित भएको बाह्य वातावरण हो । सर्वोच्च अदालतका पछिल्ला फैसलाहरुले विभाजनलाई अनुकुल बनाईदिए । यो विभाजनबाट स्वभाविक रुपमा प्रचण्ड र माओवादी केन्द्र अनि शेरबहादुर देउवा र नेपाली कांग्रेस बढी उत्साहित भए । यो परिघटनाबाट सबै चिज यथास्थितिमा रहे सरकार बलियो बन्नेछ । विभाजन पछि स्वभाविक रुपमा ओली र नेपालबीचको लडाईँ अनि दाहाल र नेपालबीचको एकताले नेपाली राजनीतिलाई रोमाञ्चक बनाउने नै छ । ओली र एमालेलाई ढाल्न वा पराजीत गर्नका लागि वर्तमान सत्ता गठबन्धन एकताबद्ध भएरै चुनावसम्म जाने अघोषित सहमति पनि भएको छ । यो चित्रले स्पष्ट गर्दछ कि संगठनमा अझै पनि एमाले नै बलियो छ । अबको एमालेको भविष्य उनीहरु बीचको एकता वा संघर्षमा निर्भर हुनेछ । के अब पनि एमालेभित्रको अद्भूत एकता सम्भव छ त ? यदि एकता भयो भने फेरि पनि एमाले नै बलियो बन्ने निश्चित छ । त्यहाँभित्र पुरानो अन्र्तविरोध कायम रह्यो भने एमाले विघटित हुनेछ ।

उता माधव नेपाल, पुष्पकमल दाहाल र शेरबहादुर देउवाको लगनगाँठो कसिएको छ । प्रारम्भिक लडाईँमा नेपाल समूहमा भएकाहरुलाई सरकारमा सहभागी बनाएर ओलीमाथि प्रहार हुनेछ । किनकी यो लडाईँ मनोवैज्ञानिक पनि छ र कुण्ठा अनि आक्रोशको पनि छ । शुरुको लडाईँ प्रतिशोधको हुनेछ । प्रतिशोधको लडाईँमा केपी ओलीको पार्टीद्धारा कारबाही गरिएका १४ सांसदको पद खाली गर्नका लागि सभामुखलाई दबाब दिनेछन् । अर्को पनि लडाईँ जारी नै छ त्यो हो – सर्वोच्च अदालतमा अध्यादेशविरुद्वको रिट निवेदन । जे होस् पछिल्लो पटकको एमाले विभाजनले नेपाली राजनीतिलाई नै प्रदुषित बनाउने छ । वास्तवमा यो लडाईँको केन्द्र भागमा सत्ता संघर्ष थियो र त्यो अहिले राजनीतिक रुपमा प्रकट भएको छ ।

खासमा तत्कालिन नेकपाभित्रको शक्ति संघर्षको अन्तिम अस्त्रको रुपमा एमाले विभाजनले मूर्त रुप लिएको छ । दुवै पक्षले भनेका छन् – विभाजन बाध्यात्मक बनेको थियो । माधव नेपालले भनेका छन् – ओली प्रवृत्तिविरुद्वको लडाईँ जारी रहने छ । उता केपी ओलीले भनेका छन् – एमाले विभाजित बनेको हैन, एउटा चैटो निस्किएको हो । उनले भनेका छन्, एमालेलाई सिध्याउन चाहने पिलो निचोरिएको हो । उता नेपाल समूहकी रामकुमारी झाँक्रीले भनेकि छन्, ‘ओलीको फासीवादको अन्त्य भयो ।’

विभाजन : जीत्ने वा हार्ने युद्ध

मेरो विचारमा एमालेलाई सिध्याउने एउटा शक्तिशाली अस्त्र हो विभाजन । विभाजन एउटा युद्ध वा विद्रोह पनि हो । कुनै पनि दल वा पार्टीको विभाजनमा रमाउने प्रवृत्ति शोभनीय हैन । विभाजन कति आन्तरिक र कति बाह्य दबाब वा प्रभावमा भन्ने कुरा पनि महत्वपूर्णं हुन्छ । विद्रोह गर्नु चुनौतिपूर्णं हुन्छ । चुनौतिका पहाडहरु देखेकै कारण दोस्रो पुस्ताका प्रभावशाली नेताहरुले माधव नेपालको साथ छाडे । सत्तामा जाने र मन्त्री चट्काउने हिसाबले पनि केहि सांसदले माधव नेपाललाई साथ दिएका छन् । त्यसकारण विभाजनको मक्सद वा अन्तरनिहित उद्देश्य के हो भन्ने आधारबाट यसलाई विश्लेषण गर्नुपर्दछ । केहिले भन्दैछन् – माधव नेपालले हार्ने यद्ध लडे अर्थात् उनीहरुको तर्क छ – महाधिवेशनबाट ओलीलाई हटाउनु नै उनको जित्ने युद्ध हुन्थ्यो । वास्तवमा यो विश्लेषणमा दम छ किनकी एमालेभित्र ओलीविरुद्वको घेराबन्दी वा मोर्चाबन्दी बलियो बन्दै थियो । मेरो विचारमा माधव नेपालले त्यो बाटोलाई सम्भव देखेनन् । उनी महाधिवेशनबाट अध्यक्ष बन्ने कुरामा त्यति आशावादी देखिएनन् । परिणामस्वरुप बाहिर गएर ओलीलाई ध्वस्त बनाउने निष्कर्षमा पुगे ।

सत्ता समिकरणको मुद्दाले पनि पार्टी विभाजन बाध्यात्मक बन्यो होला । एमालेमै रहेर सरकारमा जान नमिल्ने अनि मन्त्री बन्ने लोभमा साथ दिएका सदस्यहरुको दबाबका कारण विभाजन अनिवार्य बन्यो । अर्को पनि समस्या थियो – देउवा सरकार अल्पमतमा परेमा फेरि ओली नै सत्तामा आउने सम्भावना । माधव नेपालको पछिल्लो प्रेम सम्बन्ध खासगरी प्रचण्ड, शेरबहादुर देउवा र बाबुराम भट्टराईसँगको भावनात्मक सम्बन्धका कारण पनि विभाजन अनिवार्य बन्यो । आज आम विश्लेषकको एउटै प्रश्न छ – माधव नेपालले जित्ने युद्ध लडे की हार्ने युद्ध ? युद्धको प्रारम्भिक परिदृश्यले पक्कै पनि उनलाई दुःखी र निराश बनाएकै होला किनकी उनको साथमा रहेको ठूलो फौजले उनलाई छाड्यो । माधव नेपालका सामू अर्को पनि चुनौति छ, त्यो हो प्रचण्डसँगको एकता । प्रचण्डसँगको एकता हिजो जति सहज थियो अब अब सहज हुने छैन् । भोली प्रचण्डसँग पनि ओलीसँग जस्तै लडाईँ नपर्ला भन्न चाहिँ सकिँदैन् ।

यो एउटा नकारात्मक सम्भावना हो भने सकारात्मक सम्भावना पनि छ । सकारात्मक सम्भावना छ, उनले घोषणा गरेजस्तै छिरल्लीएर रहेका कम्युनिष्ट शक्तिहरुको धुव्रीकरण । बाबुराम भट्टराई, माधव नेपाल र पुष्पकमल दाहालले एउटै मञ्चबाट घोषणा गरे – समाजवादका लागि नयाँ धुव्रीकरण । प्रश्न फेरी उठ्छ – समाजवादको नारा फेरी पनि भ्रम कि वास्तविकता ? समाजवादको नारामाा फेरि पनि संसदीय चुनाव कि जनमत संग्रह ? संसदीय चुनाव जित्नका लागि गरिने धु्रवीकणको कुनै औचित्य छैन जुन एमाले र माकेको एकता अनि विभाजनले प्रमाणित गरिसक्यो ।

पार्टी विभाजनका श्रृंखलाहरु

संसदीय राजनीतिमा विभाजनलाई प्रोत्साहित गरिन्छ । नेताहरुको स्वार्थ मिल्दा वा बाझिँदा बिनाकारण पार्टीहरु एकता वा विभाजनमा जान्छन् । संसदीय राजनीतिमा पतन भएपछि माओवादी पार्टीको विभाजनले उसका विरोधीहरुलाई उत्साहित बनाएको थियो । अहिले पालो एमालेको आएको छ । माओवादीको विभाजनका पछाडि वैचारिक राजनीतिका कारण थिए । तर एमालेको लडाईँ मूलतः सत्ता केन्द्रीत छ र त्यसलाई ओली प्रवृत्तिविरुद्वको लडाईँ भनिएको छ । अब नयाँ पार्टी बनेपछि नेपाल प्रवत्ति कस्तो हुन्छ, त्यो हेर्न बाँकी नै छ । यो विभाजनले कम्तीमा ओली विरोधी एमाले वृत्तमा खुसीयाली ल्याउन सक्नुपर्दथ्यो तर, त्यो सकेन । शायद यो विभाजनले ओलीलाई नै बलियो बनाएको छ । अहिले ओली विरोधी एमाले मत कमजोर बनेको छ । यो तथ्य वा आँकडालाई मात्र हेरेर विश्लेषण गर्ने हो भने एमालेभित्र विभाजन अस्वीकार्य बनेको छ । उनीहरुको मत छ अन्तसंघर्ष ठिक छ तर, विभाजन गलत र आत्मघाती छ ।

विभाजनको निर्णय पछि माधव नेपालले भनेका छन् – ओली सच्चिएमा भोली तालमेल, कार्यगत एकता वा एकता गरौंला । यसबाट बुझिन्छ उनीभित्रको एमाले मोह बाँकी नै छ । सत्ता फेरबदल पछि एमालेलाई वैधानिक रुपमा कब्जा गर्न सकिन्छ कि भन्ने माधव नेपाललाई लागेको थियो । केपी ओलीको आरोप छ – प्रचण्डको उक्साहटमा एमालेको विभाजित भयो । उता विष्णु पौडेलले भनेका छन् – कांग्रेसले सत्ताको दुरुपयोग गरेर एमालेको विभाजन गर्यो । वास्तवमा यी दुईवटै तर्कमा दम छन् । त्यसो त ओलीको अहंकार र निरंकुशताका कारण पार्टी विभाजित बन्यो भन्ने अर्को तर्क पनि छ । आरोप प्रत्यारोप त चलीरहन्छन् । आज एमालेको विभाजनका लागि आधार बनाईदिने काम अध्यादेशले गर्यो । त्यसकारण विभाजनको मुख्य उद्देश्य सत्ता गठबन्धनलाइ बलियो बनाउने र सरकारमा जाने हो ।

सायद यो विभाजनबाट मुख्यगरी माओवादी केन्द्र र नेपाली कांग्रेस प्रफुल्लीत छन् । माधव नेपाललाई बधाई दिनेहरु बढि माओवादी केन्द्रका छन् । पत्रकारको एउटा प्रश्नमा उनीहरुको स्पष्टीकरण आएको छ – हामी प्रचण्डको उक्साहटमा पार्टी विभाजन गरेका हेनौं । त्यसकारण आज विभाजनको तरंग फैलिएको छ । उता महन्थ ठाकुर पक्ष पनि जसपाबाट विभाजित बनेको छ । विभाजनकारी अध्यादेशको मुख्य उद्देश्य सांसद पद जोगाउन मरीहत्ते गर्नु हो भन्ने बाबुराम भट्टराईको संश्लेषण सहि नै छ । प्रश्न यो छ कि यो विभाजनको श्रृखंला एमालेभित्र मात्र रहन्छ कि अन्य पार्टीमा पनि सर्दछ भन्ने प्रश्न महत्वपूर्णं छ । जसपा त फुटि हाल्यो । अन्य पार्टीभित्र पनि ठूला–ठूला असन्तुष्टीहरु छन् भन्ने विषय बाहिर आएकै छन् । नेपाली कांग्रेस र माओवादी केन्द्रभित्र मन्त्री बन्ने विषयमा गम्भीर लडाईँ छन् र ती कुनै पनि बेला विस्फोटक बन्न सक्ने पूर्वानुमानहरु पनि गरिएका छन् । दल विभाजनको चक्रले निर्वाचन आयोगलाई हम्मेहम्मे परेको छ । प्रश्न उही छ कि विभाजनको शिकार एमाले मात्र बन्छ कि अन्यमा पनि फैलिन्छ । सरुवा रोग जस्ते अन्यत्र नफैलियोस् भन्ने शुभकामना छ ।

कांग्रेससँग माके र माधव समूहको चुनावी तालमेल

नेपाली राजनीतिमा प्रचण्डको रणनीति हुन्छ – तालमेल, गठबन्धन र मोर्चाबन्दी । माओवादी केन्द्रको संसदीय अस्तीत्वको रक्षाका लागि तालमेल वा मोर्चाबन्दी अनिवार्य छ । स्थानीय चुनावमा नेपाली कांग्रेससँग तालमेल गरेको माओवादी केन्द्र संघीय वा संसदीय चुनावमा एमालेसँग तालमेल र एकता गर्यो । एमाले र माकेको विभाजन पछि एमाले इत शक्तिसँग गठबन्धन बनाएर शेरबहादुर देउवा प्रधानमन्त्री बनेका छन् । एमालेसँगको पछिल्लो पेचिलो लडाईँका बीच आगामी चुनावमा फेरि नयाँ गठबन्धनको तयारी भएको छ । एकिकृत समाजवादी, माओवादी केन्द्र, जसपा र नेपाली कांग्रेसका बीच आगामी चुनावमा तालमेल गर्ने सहमति भएको समााचार बाहिर आएको छ । शेरबहादुर देउवा र पुष्पकमल दाहालबीच आलोपालो सरकार चलाउने सहमति भएको चर्चा पनि छ । मेरो विचारमा देउवाले त्यति सहजै सरकारको नेतृत्व छाड्ने छैनन् । आलोपालोको विषय प्रचण्डले ल्याउने पनि छैनन् ।

सत्ता संघर्षदेखि विभाजनसम्म

संसदीय व्यवस्थामा एउटा कमजोरी हुन्छ, त्यो हो संसदको बहुमतबाट प्रधानमन्त्री चुन्ने वा हटाउने । संसदीय व्यवस्थाले दलहरुलाई विभाजन उन्मुख बनाउँछ । संसदीय व्यवस्थाको अर्को नाम अस्थिरता हो । यो व्यवस्थाले सांसदहरुलाई भेडाबाख्रामा परिणत गर्दछ । सत्ता संघर्ष र सांसद किनबेचमाा धेरै दल र सरकारले ख्याती कमाए । मान्छेहरु भन्छन् – सत्ताको नशा अन्धो हुन्छ । यो नशा वा लत लागेपछि मान्छेले सहि र के गलत छुट्याउन सक्दैन ।

सरकारमा जानु नै जीतको प्रमाण बन्छ । मन्त्री बन्नेहरु सफल, महान् र भाग्यमानी पुरुषमा परिणत हुन्छन् । मन्त्री बन्न वा सरकारमा पुग्नका लागि जे गरेपनि त्यो जायज हुन्छ । अध्यादेशको सन्दर्भमा प्रचण्डले भनेछन् – हिजो ओलीले ल्याएको अध्यादेश, संविधान र संसदलाई मास्नका लागि थियो भने आज ल्याएको अध्यादेश संविधानको रक्षाका लागि हो । ओली प्रतिगमन आज प्रचण्डको दस्तावेजको आकर्षण नारा हो । उता ओलीको तर्क छ – आजको दिनमा पनि एमाले सबैभन्दा ठूलो शक्ति हो र एमाले एकातिर अनि अरु सबै अर्कातिर हुँदा मात्र थोरै सानो भएका हौं । ओलीको तर्क छ – लोकतन्त्र नमान्ने शक्तिहरुले मात्र ठूलो दललाई घेराबन्दी गर्दछ ।

फेरिपनि लडाईँ पेचिलो बन्दै जाँदा राष्ट्रपतिविरुद्व महाअभियोग प्रस्ताव ल्याउने चर्चा पनि छ । महाअभियोगको तरंग आए राष्ट्रपति र उपराष्ट्रपति दुवैलाई प्रस्ताव आउन सक्छ । अनि फेरि बल अदालतमा पुग्न सक्छ । जे होस् एमालेभित्रको सत्ता संघर्षले नेपाली कांग्रेसलाई पुनः सत्तामा पुर्‍याएको छ । चुनाव हारेर पनि सरकारको नेतृत्वगन पाउने नेकालाई अद्भूत आनन्द मिलेको हुनुपर्छ । फेरि पनि संसदीय व्यवस्थाले कतिबेला कुन पार्टीलाई खाने हो त्यो भने भन्न सकिँदैन् । राजनीतिक स्थीरताको लागि संसदीय व्यवस्थाको अन्त्य गरौं ।

लेखमा प्रयोग गरिएको तस्बिरमा अन्यथा हुन गएकोले सच्चाइएको छ : सम्पादक ।

वि.सं.२०७८ भदौ ६ आइतवार १३:२४ मा प्रकाशित

तीन सङ्कटले थलिएको नेपाली अर्थतन्त्र

तीन सङ्कटले थलिएको नेपाली अर्थतन्त्र

१. पृष्ठभूमि नेपाल तीनवटा संरचनात्मक आर्थिक सङ्कटहरू–खाद्य असुरक्षा, फराकिलो व्यापार...

पूँजीवादी उपभोक्तावाद र बिज्ञापन: “खाए खा नखाए घिच”

पूँजीवादी उपभोक्तावाद र बिज्ञापन: “खाए खा नखाए घिच”

के तपाईं टेलिभिजन हेर्दा, रेडियो सुन्दा, पत्रिका पढ्दा वा सामाजिक...

राष्ट्रवाद र देशभक्तिमा के फरक छ ?

राष्ट्रवाद र देशभक्तिमा के फरक छ ?

१. पृष्ठभूमि राष्ट्रवाद र देशभक्ति बीचको मुख्य भिन्नता के हो...

विज्ञान भैरवतन्त्रः संक्षिप्त विवेचना

विज्ञान भैरवतन्त्रः संक्षिप्त विवेचना

विज्ञान भैरवतन्त्र काश्मीर शैव दर्शन र कौल त्रिक परम्पराको एक...

कस्तो अनौठो! फिफा विश्व फुटबल !!

कस्तो अनौठो! फिफा विश्व फुटबल !!

"देवताले भक्तलाई चिन्नु पर्दैन, भक्तले मात्र देवतालाई चिन्नुपर्छ।" यो नियम...

त्रिदेशीय साझेदारीको रणनीति : प्रचण्डको युगान्तकारी विचार

त्रिदेशीय साझेदारीको रणनीति : प्रचण्डको युगान्तकारी विचार

संसारमै चक्मा दिने गरी जनयुद्ध (बिचारले उठेको शसस्त्र संघर्ष) को...