६ भदौ, काठमाडौं । वरिष्ठ जनवादी गायक जेबी टुहुरेको स्वास्थ्य अवस्था गम्भीर रहेको छ ।
मस्तिष्कघात भएपछि जनवादी गायक जुठबहादुर खड्गी (जेबी टुहुरे)को स्वास्थ्य स्थिति गम्भीर भएको बताइएको छ ।
कलंकीस्थित निजी निवासमा गत मंगलवार एक्कासी लडेपछि बल्खुस्थित बयोधा अस्पतालको सिसियू कक्षमा भर्ना गरिएका टुहुरेको अप्रेसन गर्नु जोखिमपूर्ण रहेकाले औषधिको माध्यमबाट उपचार गरिएको उपचारमा संलग्न वरिष्ठ न्युरोलोजिस्ट डा.सामर्थ सिंहले वताएका छन् ।
मुटु, फोक्सो, मधुमेह र उच्च रक्तचापका दिर्घ रोगी समेत रहेका ७८ वर्षीय टुुहुरेको उपचारमा सम्भव सवै प्रयत्न जारी राखिएपनि अपेक्षाकृत सुधार हुन नसकिरहेको उनी बताउँछन् । टुहुरेलाई हाल भेन्टिलेटरमा राखेर उपचार जारी राखिएको बताइएको छ ।
टुहुरेको उनको स्वास्थ्य स्थिति बु्झ्न विहीबार अस्पताल पुगेका पूर्वप्रधानमन्त्री एवम् नेकपा (माओवादी केन्द्र) का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्डले टुहुरेको उपचारको सम्पूर्ण खर्च व्यहोर्न सरकारलाई आग्रह गर्ने बताएका थिए ।
त्यस्तै एमाले महासचिव ईश्वर पोखरेल, अर्थमन्त्री जनार्दन शर्मा, काङ्ग्रेस प्रवक्ता विश्वप्रकाश शर्मा, पूर्वमन्त्री कृष्णगोपाल श्रेष्ठलगायतले टुहुरेलाई भेटेर स्वास्थ्यलाभको कामना गरेका थिए ।
२० को दशकदेखि सांगीतिक क्षेत्रमा प्रवेश गरेका जनवादी गायक टुहुरेले १ सय ५० भन्दा बढी जनपक्षीय गीत रेकर्ड गराएका छन् । उनले गाएका सबै जनजिवनसँग सम्बन्धित रहेका छन् । टुहुरेको ‘आमा दिदीबहिनी हो, कति बस्छौ दासी भई, सुखको सधैं प्यासी बनेर’ भन्ने गीत चर्चित रहेको छ ।
सुनसरीको धरानमा जन्मिएका टुहुरे दोस्रो संविधानसभामा तत्कालीन एकीकृत नेकपा माओवादीबाट समानुपातिक सभासदसमेत बनेका थिए ।
वि.सं.२०७८ भदौ ६ आइतवार १७:३४ मा प्रकाशित






























