१२ भदौ, काठमाडौँ । नेपाल क्रिकेट टोलीका प्रशिक्षक डेव ह्वाटमोरले राजीनामा दिएका छन् । आईसीसी विश्वकप लिग २ का लागि ओमानमा रहेका विश्वकप विजयी प्रशिक्षक ह्वाटमोरले नेपाल क्रिकेट संघ (क्यान) लाई इमेलमा आफ्नो राजीनामा पठाएका हुन् । क्यानका अध्यक्ष चतुरबहादुर चन्दले इमेल आएको पुष्टि गरेका छन् ।
ह्वाटमोर ८ महिनाअघि जनवरीमा नेपालको प्रशिक्षकमा नियुक्त भएका थिए। उनको नेतृत्वमा नेपालले घरेलु मैदानमा आयोजित त्रिकोणात्मक सिरिज पनि जितेको थियो।
क्यानसँग डिसेम्बरसम्म सम्झौता रहे पनि उनले व्यक्तिगत कारण देखाउँदै राजीनामा दिएका छन् । उनले परिवारलाई धेरै समय दिनु पर्ने हुनाले ओमान भ्रमणपछि आबद्ध हुन नसक्ने इमलेमा जनाएका छन् ।
नेपाली टोली सेप्टेम्बर २० सम्मका लागि ओमान भ्रमणमा रहने छ । पपुवा न्यु गिनीसँग दुई एकदिवसीय अन्तर्राष्ट्रिय खेलेपछि नेपालले ओमान र अमेरिकासँग लिग २ का खेलहरु खेल्दै छ । टोलीले विहीबार ओमान पुगेर प्रशिक्षण पनि गरिसकेको छ ।
वि.सं.२०७८ भदौ ११ शुक्रवार २१:१६ मा प्रकाशित


























