१३ भदौ, काठमाडौं । पूर्वप्रधानमन्त्री तथा नेकपा (एकिकृत समाजवादी) का वरिष्ठ नेता झलनाथ खनाल दिल्लीमा लामो समय उपचार गराएर स्वदेश फर्कदैछन् ।
खनालका स्वकीय सचिव कृष्ण प्र भट्टराईका अनुसार दिल्लीमा मिर्गौलाको सफल उपचारपछि नेता खनाल सोमबार ३ः४५ मा स्वदेश फर्किन लागेका हुन् ।
‘उहाँको स्वास्थ्य अवस्था अहिले सामान्य रहेको छ । उहाँ भोली ३ः४५ मा स्वदेश फर्किदै हुनुहुन्छ ।’ भट्टराईले संसारन्युजसँग भने ।
सामान्य ज्वरो आएर नर्भिक अस्पतालमा भर्ना भएका नेता खनालाई थप उपचारका लागि दिल्ली पठाइएको थियो । नेता खनालको दिल्लीस्थित एपोलो अस्पतालमा मिर्गौला प्रत्यारोपण गरिएको हो ।
नेता खनाल दिल्ली जानेबेलामा एमालेभित्रको विवाद उत्कर्षमा पुगेको थियो । उनले दिल्ली उड्नु अगाडि पार्टी एकताका लागि आव्हान गर्दै विज्ञप्ति समेत जारी गरेका थिए । तर, खनाल दिल्लीमै उपचार गराइरहँदा नेकपा एमाले दुई भागमा विभाजित भइसकेको छ । एमालेबाट छुट्टिएका माधव नेतृत्वको समूहले नेकपा (एकिकृत समाजवादी) पार्टी निर्वाचन आयोगमा दर्ता गरेर त्यसको बैद्यानिकता समेत पाइसकेको छ । नेता खनालले आफू माधव पक्षमै रहेको जनाउदिदै दिल्लीस्थित नेपाली दूतावासबाट निर्वाचन आयोगमा पार्टी दर्ताका लागि सनाखत गरेका थिए ।
वि.सं.२०७८ भदौ १३ आइतवार १२:५३ मा प्रकाशित






























