१५ भदौँ, काठमाडौँ । भरतपुर महानगरपालिका–१५ रामपुरमा निर्माण भइरहेको गौतमबुद्ध अन्तर्राष्ट्रिय क्रिकेट रङ्गशालाको कामले गति लिन सकेको छैन । दैनिक तीन सय १३ जनासम्म जनशक्तिले काम गर्दै आएको रङ्गशालामा आर्थिक अभावका कारण हाल दैनिक ३०/३५ जनाले मात्रै काम गर्दै आएका छन् । त्यो जनशक्ति पनि नियमित छैन ।
धुर्मुस–सुन्तली फाउन्डेशनले भरतपुर महानगरपालिकासँग समन्वय गरेर काम गरेको हो । कृषि तथा वन विज्ञान विश्वविद्यालयले चर्चेको त्रिभुवन विश्वविद्यालयको स्वामित्वको जग्गामा रङ्गशाला निर्माण भइरहेको छ । फाउन्डेशनका अध्यक्ष सीताराम कट्टेलले आर्थिक अभावमा काम अघि बढ्न नसकेको बताए । सामान्य जनशक्तिले काम गरिरहेको भन्दै उनले साउन लागे यता आर्थिक अभावका कारण काममा बाधा पुगेको बताए ।
रङ्गशालामा हालसम्म रु ५३ करोड बराबरको काम भएको छ जसमध्ये रु १६ करोडभन्दा बढी तिर्न बाँकी रहेको लेखा प्रमुख मुक्ति तिमिल्सिनाले जानकारी दिए । उनले भने, “असार मसान्त हुँदै गर्दा सामाग्री दिनेहरुलाई भुक्तानी गर्न सकेनौँ । सामानकै अभावमा काम हुन सकेको छैन ।” उनका अनुसार साउन १५ गतेयता जनशक्ति नियमित काममा लगाउन सकिएको छैन । सामग्री दिनेहरुले रकम माग्ने क्रम बढ्दो छ ।
अध्यक्ष कट्टेल दैनिक तीन सय १५ जनासम्म जनशक्तिले काम गर्दा रङ्गशालाको धेरै काम गर्न सकेको बताउछन । गत वर्षको साउन १ गतेबाट एक वर्षको अवधिमा ३५ प्रतिशत काम भएको भन्दै उनले आर्थिक अभाव नभएको भए ५० प्रतिशत काम सम्पन्न गरिसक्ने बताए । रकम जुटेमा आउँदो एक वर्षमा रङ्गशाला सम्पन्न हुने उनको भनाइ छ । हाल भुई र प्याराफिटको फिनिसिङको काम भइरहेको छ । बजेट भएको भए ढलानका काम अघि बढ्ने उनी बताउछन् ।
विगत केही समययता काठमाडौँमा आर्थिक सहयोग जुटाउन आफू लागिपरेको उनले जानकारी दिए । अर्थमन्त्री, खेलकुद मन्त्रालय लगायतका निकायमा आर्थिक सहयोग जुटाइदिन आफूले पहल गरिरहेको उनको भनाइ छ ।
बाइस बिघा १६ कट्ठा पाँच धुर जग्गामा रङ्गशाला निर्माण गरिँदैछ । विस्तृत परियोजना प्रतिवेदनमा एक लाख ५४ हजार पाँच सय ६ वर्ग मिटरमा रंगशाला निर्माण गर्ने र त्यसभित्र ३० हजार मानिस बसेर खेल अवलोकन गर्नसक्ने जनाइएको छ ।
वि.सं.२०७८ भदौ १५ मंगलवार १५:०४ मा प्रकाशित


























