१६ भदौ, काठमाडौं । लामो समयदेखि नर्भिक अस्पतालमा उपचार गराइरहेकी मोडल तथा अभिनेत्री निशा घिमीरेका बुवाले निशाको मृत्यु भएको भन्दै गलत हल्ला नगरिदिन सबैमा अनुरोध गरेका छन् ।
सामाजिक संजाल फेसबुक, टिकटक लगायतमा नर्भिक अस्पतालमा उपचार गराइरहेकी अभिनेत्री घिमीरेको मृत्यु भएको भन्दै फैलिरहेको हल्लाले परिवारलाई दुःखी बनाएको भन्दै अधिकारीका वुवा प्रेम अधिकारीले पत्रकार सम्मेलनमामार्फत् यस्तो हल्ला नगर्न सबैमा अनुरोध गरेका हुन् ।
‘मेरो छोरी अहिले पनि जीवित छन् कृपया मृत्युको हल्ला नगरिदिनुस्’ उनले भने ।
घिमीरेले छोरीको उपचारमा आफू र नर्भिक अस्पतालका चिकित्सक लागिरहेको बताउँदै केही अनलाइन र सामाजिक संजालमा आएको मृत्युको खबरले मानसिक तनाव र पारिवारीक प्रेसर दिएको भन्दै पीडा व्यक्त गरेका थिए ।
नर्भिककी प्रबन्ध संचालक मेघा चौधरीको पहलमा २७ जेठदेखि नर्भिकमा निशाको उपचार भइरहेको छ । उनको उपचारमा अहिलेसम्म झण्डै ५० लाख खर्च भइसकेको बताइएको छ ।
अस्पतालले मंगलवार पत्रकार सम्मेलन गरेर घिमीरेको स्वास्थ्य अवस्था स्थिर रहेको तर सबै प्रकारका उपचार गर्दापनि सुधार आउन नसेकेको र अझै उपचार जारी राख्ने जानकारी दिएको छ ।
‘उद्धार गरेको झण्डै तीन महिना बित्न लाग्दा समेत मोडल तथा कलाकार निशा घिमीरेको स्वास्थ्य अवस्थामा अपेक्षित सुधार हुन सकेको छैन । उद्धार गरेको केही दिनसम्म घिमीरेको स्वास्थ्यमा सुधार हुने लक्षणहरु देखापरेका थिए । उहाँको उपचारमा लगातार नेपाल र नर्भिकमा उपलब्ध सबैखालका प्रविधि, सीप तथा विधिको प्रयोग गरिसण्किएको छ । तर, पनि उहाँको स्वास्थ्य अवस्थामा खासै सुधार नदेखिएको यहि विज्ञप्तिमार्फत् जानकारी गराउन चाहान्छौ । अहिले कलाकार घिमीरेको स्वास्थ्य अवस्था स्थिर रहेको छ ।’ अस्पतालद्धारा जारी विज्ञप्तिमा भनिएको छ ।
फिल्म सम्बन्धी अध्ययन गर्न भारत गएका बेल देहरादुनमा सडक दुर्घटनामा परेर गम्भीर घाईते भएकी थिइन् उनी । निशालाई केही समयको उपचारपछि घरमै राखिएको थियो ।
उनको गम्भीर अवस्थालाई लिएर केही समाजसेवीहरुको सहयोगमा जेठदेखि नर्भिक अस्पतालमा उपचार गराइएको छ ।
वि.सं.२०७८ भदौ १६ बुधवार १३:११ मा प्रकाशित





























