भदौ १७, काठमाडौं । नेकपा (एकीकृत समाजवादी)का अध्यक्ष एवं संसदीय दलका नेता माधवकुमार नेपालले नेकपा (माओवादी केन्द्र)सँग तत्काल एकताको सम्भावना नरहेको स्पष्ट पारेका छन् । बिहीबार सिंहदरबारस्थित पार्टी संसदीय दलको कार्यालयमा पदभार ग्रहण गर्ने क्रममा सञ्चारकर्मीहरुको जिज्ञासामा उनले यस्तो बताएका हुन् ।
अध्यक्ष नेपालले आज बिहान मात्रै माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’सँग वान टु वान छलफल गरेका थिए । उनले प्रचण्डसँगको भेटमा एकताको विषयमा कुनै कुराकानी नभएको बताए ।
‘हाम्रो पार्टी माओवादी केन्द्रमा मिल्छ वा विलिन हुन्छ भन्ने भ्रममा नपर्न आग्रह गर्न चाहन्छु। हाम्रो पार्टी क्रान्तिकारी विचारको आधारमा निर्माण भएको छ । यो केपी ओलीको निरंकुशताविरुद्ध विद्रोह गरेर बनेको पार्टी हो,’ नेपालले भने।
अध्यक्ष नेपालले आफ्नो पार्टीविरुद्ध केपी ओलीले कुप्रचार गरिरहेको उल्लेख गर्दै त्यसलाई चिरेर अघि बढन सफल हुने दावी समेत गरे।
मन्त्रीपरिषद् विस्तार भदौ २३ अघि नहुने
यसैबीच नेता नेपालले भदौ २३ गते अघि मन्त्रिपरिषद् विस्तार नहुने बताएका छन् । उनले कारण नखुलाए पनि त्यसबारे कोहि पनि चुईक्क नबोल्ने बताए ।
‘मन्त्रिपरिषद विस्तारका विषयमा २२र२३ गतेसम्म त कसैले पनि चुईक्क बोल्दैन। त्यस बारेमा अहिले केही चर्चा हुँदैछ। हामी त्यसका लागि पनि उपयुक्त समयमा छलफल गर्नेछौं,’ नेपालले भने।
वि.सं.२०७८ भदौ १७ बिहीवार १४:२४ मा प्रकाशित






























