२० भदौ, काठमाडौँ । नेकपा एमालेका महासचिव ईश्वर पोखरलेले आफ्नो पार्टीको आन्तरिक मामिलामा आँखा नलगाउन अन्य राजनीतिक दलहरुलाई चेतावनी दिएका छन् ।
एमालेका प्रदेशसभा सदस्य र स्थानीय जनप्रतिनिधिहरुलाई माधव नेपाल समूहको नेकपा(एकीकृत समाजवादी)मा लाग्नको लागि केही अन्य पार्टीका नेताकार्यकर्ताहरुले प्रलोभन दिने, धम्याउने क्रियाकलाप गरिरहेको भन्दै महासचिव पोखरेलले यस्तो चेतावनी दिएका हुन् ।
एमाले विभाजन गराउन अन्य पार्टीको भूमिका छर्लङ्ग भएको उल्लेख गर्दै महासचिव पोखरेलद्वारा प्रेस वक्तव्यमा अन्य पार्टीको गलत उक्साहटमा नलाग्न र पार्टीको एकताको पक्षमा दृढतापूर्वक उभिएर विभाजनलाई बल पुग्ने कुनै सनाखतमा भाग नलिन सबै जनप्रतिनिधिहरुमा अपिल गरिएको छ ।
नेकपा एमाले छाडेर नेकपा (एकीकृत समाजवादी) मा सनाखत गर्ने प्रदेश सभा सदस्य र स्थानीय जनप्रतिनिधिहरु बढेपछि एमालेलाई ठूलो दबाब परेको छ । प्रदेश २ र सदुरपश्चिम प्रदेश सभामा नेकपा(एकीकृत समाजवादी) एमाले भन्दा ठूलो बनेको छ ।
वि.सं.२०७८ भदौ २० आइतवार २२:०४ मा प्रकाशित































