२१ भदौँ, काठमाडौँ । भारतसितको दोस्रो मैत्रीपूर्ण खेलमा नेपाल पराजित भएको छ । भारतसँग नेपाल २–१ गोलअन्तरले पराजित भएको हो । त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा केहीबेर अघि सम्पन्न खेलमा भारतले नेपालमाथि जित हासिल गरेको हो ।
भारतका लागि फारुख चौधरी र कप्तान सुनिल क्षेत्रीले गोल गरे । नेपालका लागि सान्त्वना गोल तेज तामाङले गरे । पहिलो हाफमा प्रदर्शन गरेको खेललाई दोस्रो हाफमा निरन्तरा दिन नसक्दा नेपाल पराजित हुन पुगेको हो । नेपाल र भारत दुवैले पहिलो हाफमा गोलरहित बराबरी खेलेका थिए । दुवै टोलीका तर्फबाट पटकपटक गोलको प्रयास गरे पनि सफल भने हुन सकेन ।
दोस्रो हाफमा मैदान प्रवेश गरेका फारुख चौधरीले खेलको ६२औँ मिनेटमा भारतका लागि पहिलो गोल गरेका थिए । यस्तै खेलको ८०औँ मिनेटमा भारतीय कप्तान सुनिल क्षेत्रीले आफ्नो टोलीका लागि दोस्रो गोल गरे । उनी बिनाअवरोध सहजै गोल गर्न सफल भएका थिए । भारतले दुई गोल गरेपछि नेपालले आक्रामक खेल खेल्न पुगेको थियो । खेलको ८७औँ मिनेटमा नेपालका लागि तेज तामाङले डिबक्स बाहिरबाट उत्कृष्ट गोल गरेका थिए । उनले झण्डै २० यार्ड टाढाबाट गोल गरेका थिए ।
नेपाली टोलीले दोस्रो हाफमा पनि गोल गर्ने उत्कृष्ट मौका पाए पनि त्यसको सदुपयोग गर्न भने सकेन । यसअघि बिहीबार भएको पहिलो मैत्रीपूर्ण खेलमा नेपाल र भारतले एक/एक गोलको बराबरी खेलेका थिए ।
खेलको म्यान अफ दि म्याच नेपालका तर्फबाट तेज तामाङ तथा भारतका तर्फबाट अनिरुद्ध थापा घोषित भए । दुवैले जनही रु २५ हजारको चेक र ट्रफी प्राप्त गरे । यस्तै प्लेयर अफ दी सिरिज भारतका रहिम अली घोषित भए। उहाँले रु एक लाखको चेक र ट्रफी पाए । उनीहरूलाई गृहमन्त्री बालकृष्ण खाण, राष्ट्रिय खेलकुद परिषद् ९राखेप०का सदस्य सचिव रमेशकुमार सिलवाल, अखिल नेपाल फुटबल सङ्घ ९एन्फा०का अध्यक्ष कर्माछिरिङ शेर्पालगायतले चेक र ट्रफी वितरण गरेका थिए ।
आजको खेलसँगै नेपाल र भारतबीच २१ पटक फुटबल मैदानमा भिडन्त भएको छ । भारत १४ खेलमा विजयी हुँदा नेपालले दुई खेल मात्र जित्न सकेको छ । दुवै टोलीले पाँच पटक बराबरी खेलेका छन् । विश्व फुटबल महासङ्घ ९फिफा० को बरियतामा नेपालभन्दा भारत ६३ स्थान माथि छ । भारत १०५औँ स्थानमा तथा नेपाल १६८औँ स्थानमा रहेको छ ।
एन्फाका अनुसार भारतसितको मैत्रीपूर्ण खेलपछि नेपाली टोली दक्षिण एसियाली फुटबल प्रतियोगिता ९साफ०को तयारी गर्न कतारको दोहा जाने छ । नेपाली टोली यही भदौ २५ गते दोहा प्रस्थान गर्ने तय भएको छ । साफ च्याम्पियनसिप आगामी असोज असोज १५ देखि ३० गतेसम्म माल्दिभ्समा आयोजना हुँदै छ ।
वि.सं.२०७८ भदौ २१ सोमवार १०:१९ मा प्रकाशित


























