भदौ २१, काठमाडौं । काठमाडौंमा आगामी असोज १ गतेदेखि विद्यालय खोल्ने निर्णय भएको छ । काठमाडौंका प्रमुख जिल्ला अधिकारीसहित सुरक्षा निकायका प्रतिनिधि, नगरशिक्षा समितिका प्रतिनिधि तथा अभिभावक संघका प्रतिनिधिसहितको बैठकले आगामी असोज १ गतेदेखि विद्यालय खोल्ने निर्णय भएको हो ।
बैठकले विद्यालय खोल्नुअघि पूरा गर्नुपर्ने निश्चित मापदण्डसमेत तय गरेको छ ।
काठमाडौंका सहायक प्रमुख जिल्ला अधिकारी कल्पना अधिकारी नेपालले बताएअनुसार असोज १ गतेदेखि पूर्ण रुपमा भन्दा पनि तयारीका रुपमा विद्यालय खोल्ने निर्णय भएको हो । सहायक प्रजिअ नेपालले बताएअनुसार दशैं तिहारपछि मात्र विद्यालयहरू पूर्ण रुपमा खोल्ने तयारी गरिएको छ ।
प्रशासनले असोज १ गतेदेखि विद्यालय खोल्ने औपचारिक निर्णय गरेपनि काठमाडौंका केही स्थानीय तहले भने पठनपाठन समेत थालिसकेका छन् । केहीअघि सीसीएमसीबाट स्वीकृत ‘स्मार्ट–लकडाउनसम्बन्धी कार्यविधि, २०७८’ ले जोखिमको अवस्था विश्लेषणपछि भौतिक उपस्थितिमा शैक्षिक क्रियाकलाप सञ्चालन गर्न सकिने आधार दिएको थियो ।
वि.सं.२०७८ भदौ २१ सोमवार १७:१० मा प्रकाशित






























