२२ भदौ, काठमाडौँ । अमेरिकी सहयोग परियोजना (एमसीसी) सम्झौता संसदमा टेबल नगर्न विभिन्न ६ पत्रकार संगठनहरुले आग्रह गरेका छन् ।
क्रान्तिकारी पत्रकार महासंघका अध्यक्ष इन्द्र राउत, प्रगतिशील पत्रकार संघ, नेपालका अध्यक्ष उदय जिएम, जनपत्रकार संगठन, नेपालका संयोजक शेरबहादुर विश्वकर्मा, प्रेस सेन्टर, नेपालका सचिव भिम ब. वि.क, देशभक्त पत्रकार संघका संयोजक तेजेन्द्रकुमार प्रसाई र अखिल नेपाल पत्रकार युनियनका संयोजक यज्ञ दंगालले संयुक्त प्रेस वक्तव्य जारी गरी एमसीसी सम्झौता संसदमा टेवल नगर्न र एमसीसीको पक्षमा मत नदिन प्रतिनिधि सभाका सभामुख र सांसदहरुलाई विशेष आग्रह गरेका हुन् ।
अमेरिकी सहयोग परियोजना (एमसीसी) सम्झौता अन्तरगत नेपाललाई प्रदान गरिने अनुदान सहयोग अमेरिकी सरकारको इण्डो प्यासिफिक स्ट्राटेजीअन्तर्गत रहेको र नेपालमा आफ्नो सैनिक अखडा राखेर चीनलाई घेर्ने रणनीति रहेको स्पष्ट भैसकेको भन्दै नेपालको राष्ट्रिय हितविपरीतको यो सम्झौता खारेजीका लागि जोडदार माग गरिएको छ ।
एमसीसी सम्झौतामा रहेका कैयौै प्रावधानहरु घोर राष्ट्रघाती रहेको उल्लेख गर्दै नेपालको राष्ट्रिय हितविपरीतको यो सम्झौता खारेजीका लागि जोडदार माग गरिएको छ ।
साथै वक्तव्यमा एमसीसी सम्झौता खारेजीका लागि आन्दोलित हुन तथा खारेजीको पक्षमा भएका आन्दोलन एवम् अभियानप्रति ऐक्यबद्धता समेत व्यक्त गरिएको छ ।
राष्ट्रपति विद्यादेवी भण्डारीले मन्त्रिपरिषद्को सिफारिसमा बुधबार अपराह्न ४ बजेका लागि संसद् बैठक आह्वान गरेकी छन् । सत्तारुढ नेपाली काँग्रेसले संसद बैठकमा एमसीसी सम्झौतालाई प्रस्तावको रुपमा लान सक्ने हुँदा नागरिकका तर्फबाट खबरदारी भएका छन् ।
यस्तो छ संयुक्त वक्तव्यको पूर्ण पाठ
“संयुक्त वक्तव्य
अमेरिकी सहयोग परियोजना (एमसीसी) सम्झौता अन्तरगत नेपाललाई प्रदान गरिने अनुदान सहयोग अमेरिकी सरकारको इण्डो प्यासिफिक स्ट्राटेजीअन्तर्गत रहेको र नेपालमा आफ्नो सैनिक अखडा राखेर चीनलाई घेर्ने रणनीति रहेको अब स्पष्ट भइसकेको छ । अमेरिकी सरकारका उच्च पदस्थ अधिकारीहरुले नै पटकपटक उक्त तथ्य स्वीकार गरिसकेका छ्न् । एमसीसी सम्झौतामा रहेका शर्तहरुले नेपालको संविधानलाई अधिनस्थ बनाउने, नेपालको असंलग्न परराष्ट्र नीति, देशको स्वाधीनता, सार्वभौमिकता एवम् अखण्डतामा गम्भीर आँच आउने प्रष्ट देखिएको छ ।
एमसीसी अन्तर्गतका परियोजना सञ्चालन गर्दा दक्षिणी छिमेकी भारतको समेत स्वीकृति लिनुपर्ने, सम्झौतासँग नेपालको संविधानलाई अधिनस्थ बनाउने, बौद्धिक सम्पत्तिमाथि एमसीसीकै अधिकार रहने, लेखा परीक्षणको अधिकार समेत नेपाललाई नहुने, परियोजनालाई आवश्यक सामग्रीहरु अमेरिकाबाट नै खरिद गर्नुपर्ने, असुरक्षित महसुस भएमा एमसीसीले एकतर्फीरुपमा सम्झौता भङ्ग गर्नसक्ने लगायतका कैयौै प्रावधानहरु घोर राष्ट्रघाती रहेका छन् । यसर्थ, नेपालको राष्ट्रिय हितविपरीतको यो सम्झौता खारेजीका लागि हामी जोडदार रुपमा माग गर्दछौं । साथै एमसीसीका पदाधिकारीको हुन लागेको भ्रमण र आसन्न संसदको अधिवेशनबाट एमसीसी पास गर्ने गरि भइरहेका समग्र गतिविधिको हामी घोर विरोध गर्दछौं । र, एमसीसी सम्झौता संसदमा टेवल नगर्न र एमसीसीको पक्षमा मत नदिन हामी प्रतिनिधि सभाका सभामुख र सांसदहरुलाई विशेष आग्रह गर्दछौं।
यो सम्झौता स्वीकार गर्नु नेपालका लागि आत्मघाती कदम हुनेछ । र, आफ्नो मृत्युपत्रमा आफैले हस्ताक्षर गर्नुसरह हुनेछ । तसर्थ हामी सम्पुर्ण देशभक्त नेपालीहरुलाई एमसीसी सम्झौता खारेजीका लागि आन्दोलित हुन आव्हान समेत गर्दछौ र खारेजीको पक्षमा २२ दलीय मार्चा लगायत, सचेत देशभक्त नागरिकहरुले चलाएका तथा घोषणा गरेका आन्दोलन, अभियानप्रति ऐक्यबद्धता जाहेर गर्दछौं ।
साथै, यस्तो राष्ट्रघाती एमसीसी सम्झौताको पृष्ठपोषण हुने खालका कुनै पनि सामग्रीलाई स्थान नदिन सबै सञ्चारमाध्यमलाई हार्दिक आग्रह गर्दछौं ।
हस्ताक्षरकर्ताहरु
इन्द्र राउत, अध्यक्ष
क्रान्तिकारी पत्रकार महासंघ
उदय जिएम,अध्यक्ष
प्रगतिशील पत्रकार संघ, नेपाल
शेरबहादुर विश्वकर्मा,संयोजक
जनपत्रकार संगठन, नेपाल
भिम ब. वि.क सचिव
प्रेस सेन्टर नेपाल
तेजेन्द्रकुमार प्रसाई, संयोजक
देशभक्त पत्रकार संघ
यज्ञ दंगाल संयोजक
अखिल नेपाल पत्रकार युनियन
मिति : भदौ २२, २०७८”
वि.सं.२०७८ भदौ २२ मंगलवार १३:३२ मा प्रकाशित






























